पुष १६, काठमाण्डौ । वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक छ भनिन्छ । विशेष गरी नेपाली कांग्रेसका नेताहरुले अहिले पनि दलहरुबीच मेलमिलापको आवश्यकता रहेको औँल्याउने गरेका छन् ।
विसं २०३३ साल पुस १६ गते काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका साथ लौहपुरुष गणेशमान सिंह र अन्य शीर्षनेताहरुसहित आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनलाई काङ्ग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।
तर कांग्रेसले मेलमिलाप दिवसलाई औपचारिकता मात्रै दिने गरेको आरोप लाग्ने गर्छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपीले प्रतिपादन गरेको मेलमिलापको नीतिलाई आफूहरुले पालना गर्दै आएको दावी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पौडेलले तत्कालिन अवस्थाको नीति अहिले पनि सान्दर्भिक भएको बताएका हुन् ।
त्यसबेला वीपीले राजासहित अन्य राष्ट्रिय शक्तिहरुबीच मेलमिलाप हुनुपर्ने आवश्यकता औँल्याउँदै उक्त नीति लिएको पौडेलले स्मरण गरे । कतिपयले राजासँग मिल्नका लागि मात्रै मेलमिलापको नीति लिइएको भन्ने गरे पनि वास्तवमा सबै शक्तिहरुबीचमा मेलमिलाप गराउने वीपीको लक्ष्य रहेको पौडेलले स्पष्ट पारे ।
राष्ट्रिय एकताका लागि ज्यान हत्केलामा राखेर वीपी स्वदेश फर्केको भन्दै कांग्रेसले हरेक वर्ष १६ पुसमा राष्ट्रिय मेलमिलाप दिवस मनाउने गरेको छ । तर कांग्रेसकै नेताहरु एक आपसमा भने मिल्न सकेका छैनन् ।
कांग्रेसका वरिष्ठ नेता पौडेलले कांग्रेस विचलित नभई एक नै भएको दावी गर्न भने छोडेनन् ।
उनले कांग्रेसभित्र सभापति शेरवहादुर देउवा र आफुविच कुनै पनि भागवण्डा नभएको पनि स्पष्ट पारे । विधानमा देउवा र आफूबिच सहमति भएकाले यसलाई नै एकता मान्नुपर्ने पौडेलले बताए । अरु कुनै विषय भागबण्डा नगरिएको उनले दाबी गरे ।
कांग्रेसमा संकट भएपनि कार्यकर्तामा उच्च मनोवलका साथ काम गर्ने सन्देश महासमिति वैठकले दिएको पौडेलको भनाई छ ।
विपीको मेलमीलापको सान्दर्भिकता आज पनि महत्वपुर्ण रुपमा रहेको पौडेलको भनाई छ ।
वीपी लगायतका नेताहरु मेलमिलापको नीति लिएर नेपाल आए पनि तत्कालीन सरकारले त्रिभुवन विमानस्थलबाटै पक्रेर सुन्दरीजल बन्दीगृह लगेको थियो । त्यहि दिनको सम्झनामा हरेक वर्ष पुस १६ गतेलाई मेलमिलाप दिवसका रुपमा मनाउन थालिएको हो । आज ४३ औँ राष्ट्रिय मेलमिलाप तथा एकता दिवस मनाईँदैछ ।
कुराकानीका क्रममा पौडेलले संविधान विपरित कांग्रेस कहिल्यै पनि नजाने भन्दै हिन्दु राष्ट्रको एजेण्डा स्वीकार नगर्ने बताए ।