काठमाडौं १९ पुस । नरहरिनाथ गाउँपालिका–१ की दुरी विकले एक सातासम्म निरन्तर रगत बग्दा पनि कसैलाई खबर गरिनन्। उनी ४ महिनाकी गर्भवती हुन्। दुरीको समस्या जटिल बन्दै गएपछि मात्र पति अम्मरेले जानकारी पाए।
उनले पत्नीलाई कुमालगाउँस्थित स्वास्थ्य चौकी पुर्याए। उनको समस्या निरन्तर बढ्दै गएपछि त्यहाँका हेल्थ असिस्टेन्टले जिल्ला अस्पताल कालिकोट रेफर गरे। पुस ७ गतेदेखि थला परेकी उनलाई तत्काल रगत चढाउनुपर्ने कुमालगाउँका चिकित्सको सल्लाहअनुसार सात जना युवाले १४ पुसमा दिनभर स्टेचरमा बोकेर जिल्ला अस्पताल कालिकोट पुर्याए। ‘दैनिक रगत बग्न थाले पनि उनले मलाई भनिनन्, घरको काम गर्दै थिइन्’, पति अम्मरेले भने, ‘जब उनी कामै गर्न नसक्ने अवस्थामा पुगिन्। अनि मात्रै थाहा पाएँ, लगत्तै स्वास्थ्यचौकी पुर्याएँ।’
तीन दिन जिल्ला अस्पतालमा उपचार गरेपछि उनी घर फर्किएकी छन्। दुई छोरीकी आमा दुरीले भनिन्, ‘सामान्य रगत बग्दै थियो, घरमा भन्नै लाज लाग्यो, आफैं सन्चो होला भन्ने आशाले काम गरिरहेकै थिएँ। चार दिनपछि उठ्नै नसक्ने भएपछि उहाँले थाहा पाउनुभयो, अस्पताल आयौं।’
यस्तै, पचालझरना गाउँपालिका–२ निवासी ठिट्टु सार्कीको अवस्था उस्तै छ। उनी जिल्ला अस्पताल कालिकोटमा उपचाररत छिन्। तीन महिनाकी गर्भवती सार्कीको पनि आफैं रगत बग्न थाल्यो। पति रोजगारीका लागि भारतमा रहेकाले कसैलाई समस्या भन्न सकिनन्। तर, पीडा सहनै नसक्ने भएपछि मात्रै उनले छिमेकीलाई रत्तस्रावबारे जानकारी दिइन्।
उनलाई पनि गाउँका युवाले स्टेचरमा बोकरै जिल्ला अस्पताल कालिकोट पुर्याए। कर्णालीका ग्रामीण क्षेत्रका अधिकांश महिला रोग लुकाउँछन्। सानै उमेरमा बिहे, उमेर नपुगी बच्चा जन्माउनु, धेरै सन्तान हुनु तथा गर्भावस्थामा ख्याल नपुर्याउनुले अधिकांश गर्भवतीले यो पीडा सहनुपरेको छ। जिल्ला अस्पताल कालिकोटका डा.नहकुल शाही भन्छन्, ‘गर्भवती हुँदा उचित हेरचाह, पोषणयुक्त खानेकुरा अभाव र रगत बग्न सुरु भए पनि अरूलाई भन्न लजाउनेजस्ता कारण गाउँका महिला जोखिम मोल्ने गर्छन्।’ अन्नपूर्णपोष्टबाट