वासिङ्टन डिसी, २१ पुस / अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ् उनबीचको शिखर बैठक चाडै हुने अमेरिकी उच्च अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् ।
अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले ट्रम्प र किमको दोस्रो शिखर बैठक चाडै हुने विश्वास व्यक्त गर्नु भएको हो । पहिलो शिखर बैठकमा भएको सहमतीअनुसार उत्तर कोरियाको आणविक हतियार बन्द गर्नकालागि भइरहेको प्रक्रिया र प्रगतिका बारेमा अमेरिकाले उच्च तहका कुटनीतिज्ञहरु पनि खटाएको योन्ह्याप समाचार संस्थाले जनाएको छ ।
दोस्रो बहुप्रतिक्षित शिखर बैठक गर्नुअघि अरु धेरै काम गर्न बाँकी नै रहेको पोम्पेओले शुक्रबार बताउनु भयो ।“मलाई विश्वास छ की राष्ट्रपति ट्रम्प र नेता किमबीचको दोस्रो शिखर बैठक आगामी छोटो समयमै हुनेछ,” विदेश मन्त्री पम्पेओले भन्नुभयो ।
अमेरिका र उत्तर कोरिया बीचको विश्वास अझ बढाउन र अमेरिकालाई ठूलो चुनौतीको रुपमा रहेको आणविक हतियारलाई निशस्त्रीकरण गर्न शिखर बैठक उपलब्धिमुलक हुने उहाँको विश्वास छ ।
कोरिया प्राय द्धिपमा शान्तिस्थापनाका लागि अहिले भइरहेका प्रयास सकारात्मक सुरुवात भएको उहाँको भनाई छ । यो बाँकी विश्वकालागि पनि सकारात्मक संकेत हो ।
“हाम्रो समझदारीको रणनीति के कस्तो हुन्छ भन्ने बारेमा मैले अहिले नै केही भन्न सक्दिन, यत्ति हो की यो अवश्य पनि राम्रै हुनेछ,” उहाँले भन्नुभयो ।
उहाँले थप्नुभयो, “दक्षिण कोरियाकालागि राम्रो हुनेछ, जापानकालागि राम्रो हुनेछ र संसररकै लागि पनि राम्रो हुनेछ ।”
यसै हप्ताको शुरुमा ट्रम्पले किमको तर्फबाट आफुले महत्वपूर्ण पत्र प्राप्त गरेको बताउनु भएको थियो । उहाँले पनि चाडै नै उत्तर कोरियाका नेतासँग भेट्ने मौका पाउने विश्वास व्यक्त गर्नुभएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता उनबीच गत वर्षको जुनमा शिखर बैठक भएको थियो । त्यस समयमै फेरि अर्काे बैठक गर्ने सहमति भएको थियो । (रासस/एएनआई)