काठमाडौं, २२ पुस । संसदमा सार्वजनिक वक्तव्य दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी सांसदहरुले प्रश्न गर्न नपाएपछि हंगामा भएको छ । सभामुख कृष्णबहादुर महराले प्रश्न गर्न नदिएको भन्दै विपक्षी कांग्रेसका सांसदहरुले संसदमा हंगामा गरेका छन् ।
संसदको बैठक १५ मिनेटको लागि स्थगित् भएको छ । कांग्रेस सांसदहरुले प्रश्नउत्तर गर्न समय मागे । तर, सभामुख महराले प्रधानमन्त्रीले सरकारको कामकारबाहीबारे जानकारी मात्र दिएको भन्दै समय दिएनन् ।
कांग्रेस सांसदहरुले उभिएर विरोध गरेपछि सभामुख महराले ‘सिमित सदस्यलाई प्रश्न गर्न अनुमति दिन्छु’ भन्दै मिनेन्द्र रिजालको नाम लिए । तर, रिजालले महराको प्रस्ताव मानेनन् ।
सभामुखले प्रश्न गर्ने कार्यक्रम हटाएको सूचना दिँदै अर्थ समितिका सभापति कृष्ण दाहाललाई निवृत्तिभरण कोषसम्बन्धी विधेयकको प्रतिवेदन पेश गर्न समय दिए । कांग्रेस सांसदहरुको नाराबाजीका बीच दाहालले प्रतिवेदन पेश गरे । सभामुख महराको एक गल्तीले गर्दा प्रधानमन्त्री ओलीको सम्बोधन नै छायाँमा परेको सत्तारुढ दल नेकपाका सांसदहरुको गुनासो छ ।
तस्विर : मुकुन्द कालिकोटे