काठमाण्डौ । संसदीय दलको विधानमा नै छाया सरकारको प्रावधान राखेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कामको निगरानी राख्न छाया सरकार गठनको तयारी अघि बढाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट दोस्रो दल बनेको कांग्रेसले सरकारका गतिविधिलाई निगरानी गर्दै संसद्लाई प्रभावकारी बनाउन छायाँ सरकार गठन गर्ने तयारी गरेको हो ।
कांग्रेसले छाया सरकारमार्फत मन्त्रालगायत कामको निगरानी, निर्णय, संवैधानिक पद्धति, प्रक्रिया र जनआकांक्षालाई ध्यानमा राखेर काम गर्ने बताएको छ ।
पछिल्लो समय संसदमै सरकारको तिव्र विरोधमा उत्रिएका प्रतिपक्षी कांग्रेसको छाया सरकारले ओली नेतृत्वको सरकारलाई सहयोग पु¥याउने हो वा हानि गर्नेे हो भन्नेबारे चर्चा सुरु भएको छ । पार्टीको विधानमै छायां सरकारको प्रावधान राखेको कांग्रेसले सरकार गठनलगत्तै यसबारे कुरा उठाएको थियो । कांग्रेसबाट हाल प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी ६३ सांसद छन् ।
एक साताभित्रै छाया सरकार गठन गर्ने तयारी गरेको कांग्रेसले विषयविज्ञद्वारा सरकारका कामको कडा रूपमा निगरानी गर्ने रणनीति बनाएको छ । कांग्रेसभित्र छायां सरकार बनाउनुपर्ने प्रस्ताव लैजाने युवा नेता गगन थापाका अनुसार कांग्रेसको छायां सरकारले सरकारलाई सही बाटोमा डो¥याउने छ । सरकारको कामकारबाहीलाई लिएर सत्तारुढ दल तथा विभिन्न क्षेत्रबाट विरोध भइरहँदा कांग्रेसको यो छाया सरकारले वर्तमान ओली सरकारलाई धेरै सहयोग पुग्ने अनुमान गर्न थालिएको छ ।
पार्टीको छाया सरकारमा सम्बन्धित मन्त्रालयसँग विज्ञता प्राप्त गरेका व्यक्तिलाई सम्बन्धित मन्त्रालयको जिम्मेवारी दिइने छ । यसले सरकारमा रहेका मन्त्रीहरुले गर्ने हरेक मन्त्रालयको कामकारवाही चुस्त दुरुस्त भए नभएको अनुगमन गर्नेछ ।
छाया सरकारको नेतृत्व भने पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन् भने मन्त्रालयकै संख्यामा कांग्रेसका सांसदहरुलाई सबै मन्त्रालय हेर्नेगरी संयोजक तोकिने छ । केन्द्रमा मात्र नभई प्रदेश तथा स्थानीय तहमा समेत प्रतिपक्षको हैसियतले छाया सरकार बनाउने योजना बनाएको छ । कांग्रेसले बनाउने छाया सरकारमा क्याबिनेटमा रहने मन्त्रालय र मन्त्रीबराबरकै मन्त्री रहनेछन् ।
त्यसो त नेपालमा छाया सरकारको अवधारणा २०४८ सालमा कांग्रेसको सरकार रहेका बेला तत्कालीन नेकपा एमालेका नेता मनमोहन अधिकारीलाई छाया सरकारको प्रधानमन्त्री बनाई यस्तो अभ्यास सुरु भएको थियो ।