Logo

त्रियुगा सहकारीको रु ६८ करोड कारोवार



काठमाडौँ,२९ पुस । किसानको जीवनस्तर उकास्ने उद्देश्यले स्थापित त्रियुगा सहकारी संस्थाले आर्थिक वर्ष २०७४÷७५ मा रु ६८ करोड २४ लाख ८५ हजारको आर्थिक कारोवार गरेको छ ।

जिल्लाको फतेपुर, ओद्राहा, कमलपुर, पिप्रा पूर्व, कञ्चनरुप, जगतपुर र धर्मपुरलाई कार्यक्षेत्र बनाई विसं २०३३ मा स्थापित संस्थाको आज भएको १७औँ वार्षिक साधारणसभामा सो जानकारी दिइएको हो । सहकारी संस्थामा हाल दुई हजार २४४ शेयर सदस्य रहेको व्यवस्थापक दीपक कार्कीले बताउनुभयो ।

मलखाद, बीउबिजन उपलब्ध गराउँदै आएको सहकारीले पशुपालन व्यवसाय गर्ने किसानलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । दूध तथा दुग्धजन्य पदार्थ बिक्री वितरण गर्दै आएको सो संस्थाले एम्बुलेन्स सेवा, खेत जोत्ने ट्याक्टर, चर्पी सफा गर्ने सेफ्टीट्याङ्की र डिपार्टमेन्ट स्टोर सञ्चालन गर्दै आएको छ ।

उक्त कार्यक्रमको प्रदेश नं २ का कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले साधारणसभाको उद्घाटन गर्नुभयो । समारोहमा नियमित दूध खरिद बिक्री गर्ने उत्कृष्ट कृषक, उत्कृष्ट बचतकर्तालाई सम्मान गरिनुका साथै सामुदायिक विद्यालयमा अध्ययनरत एसइई परीक्षामा उत्कृष्ट अङ्कमा उत्तीर्ण हुने दुई विद्यार्थीलाई जनही रु १५ हजार छात्रवृत्ति प्रदान गरिएको छ ।

साधारणसभामा सप्तकोशी नगरपालिकाका प्रमुख उत्तमकुमार गौतम, राष्ट्रिय सहकारी बैंकका सञ्चालक समितिका केन्द्रीय सदस्य विश्वनाथ मण्डल, जिल्ला सहकारी सङ्घका अध्यक्ष बिनोदकुमार दत्त, सहकारीकर्मी मुरारी कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सस्थाका अध्यक्ष शम्भुबहादुर खड्काका अनुसार साधारणसभाले नयाँ कार्यसमिति चयन गर्नेछ । रासस



प्रतिक्रिया दिनुहोस्