माघ १, काठमाण्डौ । आज माघ माघे संक्रान्ति । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले मकर सङ्क्रान्ति पनि भनिन्छ ।आजदेखि दिनभन्दा रात छोटा हुँदै जान्छन् । धार्मिक मान्यता अनुसार उत्तरायण सुरु हुने भएकाले स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य मानिन्छ ।
आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका क्षेत्रमा विशेष मेला लाग्ने गर्दछ । माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी खाने चलन छ । जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ ।
आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी स्थानमा आजका दिन भव्य मेलासमेत लाग्ने गर्छ । सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई वैदिक दर्शनका विभिन्न शास्त्रमा पवित्र दिन मानिएको छ । उत्तरायण शुरु भएपछि शुभ काम, यज्ञ यागादि गर्न शुभ मानिएको छ । उत्तरायण शुरु हुने दिन गुरु पुरोहितबाट तिलक लगाउने शास्त्रीय मान्यतासमेत छ ।
सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेको पौराणिक मान्यता छ । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानलगायतका तीर्थस्थलमा पनि मेला लाग्ने गर्दछ ।
थारु समुदायको माघी पर्व
थारु समुदायले माघ १ मा नयाँ वर्षका रुपमा धुमधामका साथ माघी मनाउँदैछन् । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ माघी मनाइन्छ । तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारु समुदायमा छ ।