Logo

कसैलाई विभेद गरेर राष्ट्रिय एकता बलियो हुन्नः अध्यक्ष प्रचण्ड



धादिङ, १ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातजाति, धर्म, वर्ग तथा समुदायलाई विभेद गरेर राष्ट्रिय एकता बलियो नहुने बताउनु भएकाे छ ।

मंगलबार धादिङबेशीमा लि:ल (घले) ल्हाेसारकाे उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएकाे हाे । उनले जातजाति भाषा, धर्म र क्षेत्र तथा समुदायको हक अधिकार सुनिश्चित गरेर मात्र नेपालको राष्ट्रिय एकता बलियो हुने विश्वास व्यक्त गर्नुभयाे।

प्रचण्डले वर्ग समुदायको हक अधिकारलाई पूर्णतामा लैजानका लागि संविधानलाई परिमार्जन गर्दै लैजानुपर्ने आवश्यकता औंल्याउनुभयाे ।उहाँले इतिहास बिन्ती चढाएर मात्रै नपाइने बताउँदै उत्पीडन तथा विभेदमा परेकाहरु आफैं जागरुक भएर हक अधिकार माग्नुपर्ने उल्लेख गर्नुभयाे ।

घलेहरुले अध्यक्ष प्रचण्डलाई आफ्नो जातिलाई आदिवासी जनजातिको अनूसूचीमा समावेश गराउन पहल गरिदिन ज्ञापन पत्र बुझाएका थिए । उनीहरुलाई अध्यक्ष प्रचण्डले सहयोग गर्ने बताउनुभयाे ।

‘घलेलाई जातीय रुपमा नभई थरको रुपमा प्रयोग भएको छ । विगतमा आदिवासी जनजातिको अनुसुचीमा सुचीकृत गर्दा तपाईहरुमाथि अन्याय भएको रहेछ भन्ने मैले पाएँ,’ अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘नेकपामा, सरकार र सदनमा म घलेलाई आदिवासी जनजातिको अनूसुचीमा सुचीकृतका गराउन पहल गर्नेछु ।’



प्रतिक्रिया दिनुहोस्