काठमाडौं, ५ माघ । सत्तारुढ दल नेकपाभित्र अहिले अनशनरत गोविन्द केसीको माग सम्बोधन गर्ने वा नगर्ने भन्नेबारे शीर्ष नेताहरुबीचै नै विवाद भएको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ सुरुदेखि नै डाक्टर केसीको पक्षमा उभिँदै आएका छन् ।
१५ औं अनशनका क्रममा पनि नेता श्रेष्ठ डाक्टर केसीको माग सम्बोधन गर्नुपर्छ भन्दै सार्वजनिक रुपमै केसीको पक्षमा उत्रिएका थिए । तर, पार्टीले कारबाही गर्ने चेतावनी दिएको थियो । उनले आफूलाई कारबाही मञ्जुर भएको भन्दै अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चूनौति दिएका थिए ।
यसपटकपनि डाक्टर केसीको माग सरकारले पूरा गर्नुपर्ने अडानमा श्रेष्ठ छन् । तर, उनलाई केसीको पक्षमा वकालत नगर्न अध्यक्ष प्रचण्डले चेतावनी दिएका छन् । स्रोतका अनुसार यो विषयमा प्रवक्ता श्रेष्ठले आफूलाई कारबाही गरेपनि गर्नुहोस तर केसीको माग जायज भएकोले म उनको पक्षमा लागेको भनेर प्रचण्डलाई पनि चूनौति दिएका छन् ।
चिकित्शा शिक्षा सुधारको माग राख्दै यसअघि १५ औँ अनशन बसेका बेला सरकारले उनका माग पूरा गर्ने गरी चिकित्शा शिक्षा विधेयक संसदमा पठाउने सम्झौता गरेको थियो । आफूसँग गरिएको सम्झौता तोडमोड गरेर विधेयक संसदमा पेश पठाइएको भन्दै डा. केसीले १६ औँ अनशन सुरु गरेका हुन् ।