काठमाडौं, ७ माघ । स्पेनिस ला लिगामा बार्सिलोनाले लेगानेसलाई ३-१ गोल अन्तरमा हराएको छ। सोमबार बिहान घरेलु मैदानमा भएको खेलमा ‘लिग लिडर’ बार्सिलोनाको जितमा कप्तान मेसी, ओस्माने डेम्बेले र लुइस स्वारेजले एक -एक गोल गरे।
यो जितसँगै अंक तालिकाको शिर्षस्थानमा रहेको बार्सिलोनाले आफ्नो निकट्तम प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडसँग पुनः पाँच अंकको अग्रता लिएको छ ।
खेलको ३२ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरूवाती अग्रता दिलाए। पहिलो हाफमा १-० ले अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्यो। तर, पहिलो हाफमा पछि परेको भ्रमणकारी टोलीका लागि मार्टिन ब्राइथवेटले ५७ औं मिनेटमा गोल गर्दै खेलमा फर्कने संकेत दिए।
बार्सिलोनाका लागि लुइस स्वारेजले खेलको ७१ औं मिनेटमा गोल गर्दै पुनः टोलीलाई अग्रता दिलाए। दोस्रो हाफमा ६४ औं मिनेटमा कार्लेस एलेनाको स्थानमा मैदान प्रवेश गरेका कप्तान मेसीले इन्जुरी समयमा गोल गर्दै बार्सिलोनाको जित निश्चित गरे।
यो जितसँगै बार्सिलोनाले अंक तालिकामा ५ अंकको अग्रता बनायो। लिगमा २० औं चरणका सबै खेल खेलिसक्दा साविक विजेता बार्सिलोना ४६ अंकसहित तालिकाको पहिलो स्थानमा छ। ४१ अंकसहित एट्लेटिको म्याड्रिड दोस्रो, ३६ अंकसहित रियल म्याड्रिड तेस्रो, ३३ अंकसहित सेभिल चौथो र ३२ अंकसहित डेपोर्टिभो आल्भेस पाँचौं स्थानमा छन्। लेगानेस भने २२ अंकसहित १४औं स्थानमा छ।