माघ ८, काठमाण्डौ । सरकारले आज चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्ने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण सोमबार विधेयक पारित गर्न असफल भएको थियो । तर आज बहुमतका आधारमा पेलेरै भए पनि विधेयक पारित गर्ने सत्तापक्षको रणनीति छ ।
सोमबारको बैठक कांग्रेसले अवरुद्ध गरेपछि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो। सोमबारको कार्यसूचीमा यो विधेयक पारित गर्ने उल्लेख थियो । मंगलबार भने कांग्रेसले अवरोध गरे पनि बैठक सञ्चालन गर्ने तयारीमा रहेको छ ।
आजको बैठक दिउसो ३ बजेका लागि बोलाइएको छ । आजको बैठकमा बहुमतको आधारमा विधेयक पारित गरिने नेकपाका नेता तथा सांसद योगेश भट्टराईले जानकारी दिएका छन् ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधनको माग गर्दै डा. गोविन्द केसी आमरण अनशन बसिरहेका छन् ।
तर केसीको अनसनलाई वेवास्ता गर्दै सरकारले विधेयक पेश गर्ने कार्यसूची तय गरेको छ । शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस हुने र त्यसपछि उक्त विधेयक पारित गर्ने सम्भावित कार्यसूची संसद् सचिवालयले बनाएको छ ।
विधेयक मेडिकल माफिया पोस्ने गरि आएको भन्दै कांग्रेस यसलाई आजपनि रोक्ने तयारीमा छ । विधेयकमाथि छलफल हुन नदिने र रोष्टम घेराउ गर्ने तयारी कांग्रेसको छ ।
सत्ता र प्रतिपक्ष दुबै दलले आफ्ना सांसदहरुलाई अनिवार्य रुपमा संसदमा उपस्थित हुन ह्विप समेत जारी गरेका छन् । सत्ता पक्ष पेलेरै भएपनि विधेयक पारित गर्ने र विपक्षी दल विधेयक रोक्ने अडानमा रहेका कारण मंगलबार संसदमा दुई पक्षबीच भिडन्तको संकेत देखिएको छ ।