काठमाडौँ, १० माघ । बोनम्यारो रोगबाट पीडित १३ बर्षीय बालक प्रेम बिश्वकर्माको परिवारले उपचारको लागि आर्थिक सहयोग गर्न अपिल गरेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै प्रेमको परिवारले सहयोगको आग्रह गरेको हो ।
बिहीवार रिपोर्टर्स क्लब नेपालमा छोरा पनि सँगै लिएर आएका उनका बुवा अम्बर बहादुर बिश्वकर्माले आफ्नो छोरालाई बचाईदिन आग्रह गर्दै सहयोगको अपिलसमेत गरेका छन् ।
सुनसरीको बराह नगरपालीका– २ बयरबन स्थायी घर भएका अम्बर बहादुर पेशाले आरन ब्यवसाय हुन । यही व्यवसाय गरेर आफूले परिवारको गुजरा चलाईरहेको उनले सुनाए ।
सिँगो परिवार नै यतिवेला के खाउँ र के लाउँ ? भन्ने अवस्थाबाट गुज्रिरहेको सुनाउँदै उनले छोरालाई बचाउन अपिल गरे । उनले भने,‘छोरा महँगो रोगको शिकार भएको छ, हाम्रो आर्थिक अवस्था अत्यन्तै दयनीय छ ।’
अस्पतालले छोराको उपचारको लागि करिव १७ लाख उपचार खर्च लाग्ने बताएको पनि उनले जनाए । तामाका भाँडाहरु बनाएर आफ्नो परिवारको जीविका चलाईरहेका उनी योभन्दा पहिला छोरीको उपचार गर्न आफ्न्तबाट लिएको ऋण तिर्न अझै नसकेको गुनासो पोख्छन् ।
कार्यक्रममा आफुलाई पढेर ठुलो मान्छे बन्ने धोको रहेको बताउने बालक प्रेम बराह राईजिङ स्कुलको कक्षा ५ मा अध्ययनरत छन् । अहिले आफुलाई प्रत्येक दिन ‘एक पिन्ट’ रगत चढाईरहेको उनले जानकारी गराए ।
अस्पतालले शल्यक्रिया गर्न पैसाको जोहो गर्न भनेको छ तर पैसा नभएका कारण अप्रेसन गर्न नसकेको बुवाले जनाए । ‘बाँचुन्जेल दिनहु रगत चढाउन सक्दिन, तीन महिनाभित्र अप्रेसन नभए जेपनि हुन सक्ने अस्पतालले जनाएका कारण आफुलाई निकै डर लागेको छ’–उनले बताए ।
अहिलेसम्म भएको सानो जग्गालाई गाँउमै धितो राखेर लिएको पाँच लाख रुपैया पनि उपचार गर्देमा सकिएको पनि उनले जानकारी गराए ।
उनले आफुलाई बचाउन सहयोगी हातहरुलाई आफ्नो सिद्धार्थ बैंकमा रहेको खाता नम्बर (अम्बर बहादुर बिश्वकर्मा र प्रेम बिश्वकर्मा) ०१६१५३८७५९४ मा जम्मा गरिदिन अनुरोध गरेका छन । उनले आफ्नो सम्पर्क नम्बर ९८४२२०८८१८ मा सम्पर्क गरेर पनि सहयोगको गर्न सक्ने जानकारी गराए ।