माघ १४, काठमाण्डौ । डा. गोविन्द केसीको अनसन २० औँ दिनमा पुगेको छ । केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
केसीको जीवनरक्षा माग गदै चिकित्सकहरु आजबाट रिले अनसनमा बस्ने भएका छन् ।
चिकित्सा शिक्षा सुधारलगायत माग राखेर गत पुस २५ देखि १६ औं अनसनमा रहेका केसीको माग पूरा गर्न सरकारले आनाकानी गरेको भन्दै नेपाल चिकित्सक संघ रिले अनसनमा बस्न लागेको हो ।
केसीको अनसनका विषयमा पक्ष र विपक्षका दुई अधिवक्ता सुरेन्द्र भण्डारी र सुमन प्याकुरेलसँग ऋषि धमलाले विशेष कुराकानी गरेका थिए ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा गरिएको कुराकानीमा नेकपाका तर्फबाट राष्ट्रियसभाका सदस्यसमेत रहेका सुमन प्याकुरेलले प्रतिनिधीसभाबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई राष्ट्रियसभाले पनि पारित गरेर कार्यान्वयनमा लैजाने बताए ।
संसदको सर्वोच्चताको विरुद्धमा अनसन बसेका केसीको सबै माग पूरा हुन नसक्ने प्याकुरेलले बताए ।
अर्का अधिवक्ता सुरेन्द्र भण्डारीले भने सरकारले केसीसँग गरेका सम्झौता किन पालना भएन भनेर प्रश्न गरे ।
डा. केसीको पक्षमा लागेका भण्डारीले केसीले चिकित्सा शिक्षा क्षेत्रको सुधारका लािग गरेको प्रयासलाई सरकारले तुहाउन खोजेको आरोप लगाए ।
बहसका क्रममा प्याकुरेलले डा. केसीले राजनीतिक मागहरुसमेत राखेकोमा आपत्ती प्रकट गरे । केसीले विज्ञप्तिमा प्रधानमन्त्री ओलीलाई जथाभावी आरोप लगाएकोमा पनि उनको असन्तुष्टी छ ।