काठमाडौं, १७ माघ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले चीनमा कृषि पढ्न जाने विद्यार्थीको कोटा बढाउन चीन सरकारसँग आग्रह गरेका छन् ।
नेपालका लागि चीनियाँ राजदूत होउ यानकीसँग बिहीबार मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले अहिले निक्कै थोरै संख्यामा नेपाली विद्यार्थी कृषि पढ्न चीन जाने गरेको भन्दै त्यो संख्या बढाउन आग्रह गरेका हुन् ।
आधिकारिक रुपमा चीनका विश्वविद्यालयमा पढ्न जाने विद्यार्थीको संख्या बढाउन सके अन्य मुलुकमा रोजगारी गर्न जानेको संख्या घट्ने र त्यसले कृषिलाई नै टेवा पुर्याउने मन्त्री खनाको विश्वास छ ।
नेपालका हिमाली र पहाडी जिल्लामा प्रयोग हुने कृषि औजारहरु चीनमै बनेका हुने भएकाले त्यसको अध्ययनका लागि पनि पढाई र तालिम फलदायी हुने उनको भनाई थियो । त्यस्तै मन्त्री खनालले नेपालका कृषकका लागि आधुनिक कृषि तामिलको व्यवस्था गर्न पनि आग्रह गरेका छन् ।
जवाफमा राजदुत होउले थप छलफल गरेर छिट्टै नेपालले प्रस्ताव गरेअनुसार सहमति गर्न चीन तयार रहेको बताइन् । उनले नेपाल र चीनबीच पुरानो मैत्रिपूर्ण सम्बन्ध रहेको भन्दै आफ्नो कार्यकालमा त्यसलाई थप उचाईमा पुर्याउने प्रतिवद्धता जनाइन् । चीनले कृषि र प्रविधिमा निक्कै फड्को मारेको सुनाउँदै राजदुत होउले एक असल छिमेकीको नाताले त्यो शिप नेपालका लागि पनि फलदायी हुने बताइन् ।