काठमाडौँ,२० माघ । मकवानपुरको बागमती गाउँपालिका–४ पाँचपाण्डवमा शनिबार साँझ भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
फापरवारीबाट सिन्धुलीतर्फ निर्माण सामग्री लिएर जाँदै गरेको ना६त ४४२ नंको ट्याक्टर दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भएको स्थानीयवासी निर्मल तिमल्सिनाले जानकारी दिनुभयो । दुर्घटनामा सिन्धुली हरिहरपुर गाउँपालिकाका ५० वर्षीय हेमकुमार श्रेष्ठको घटनास्थलमा र सोही स्थानका ५० वर्षीय बखत राईकोे उपचारका लागि हेटौँडातर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते जनकल्याण आधारभूत विद्यालय लमकन्नाकी शिक्षिका शिवमाया मगर, शक्ति राई, मोहन राई , कृष्ण राई र तिलक राईलाई उपचारका लागि हेटौँडा ल्याइएको छ भने उनीहरुको अवस्था गम्भीर रहेको जनाइएको छ ।
निर्माणाधीन धरान–चतरा राजमार्गअन्तर्गत मकवानपुर र सिन्धुली जोड्ने पुलको करीब दुई किलोमिटर नजिकै ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टर अनियन्त्रित भई पल्टिएको अनुमान गरिएको छ । ट्याक्टर निकाल्न जेसिबी नै प्रयोग गर्नुपर्ने अवस्था रहेको शिक्षिका राईले बताउनुभयो । रासस