काठमाडौं, २० माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले आफूहरुले सदन चल्न दिने तर हिजोजस्तो सुमधुर सम्बन्ध नरहने स्पष्ट पारेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘सरकारले पेलेर जाने भनेको छ, जे मा पनि देखाईदिन्छु भनेर बढेको छ । प्रतिपक्षी खोई ? भनेको होईन, हामी अब सदन र सडक दुवैमा देखाईदिन्छौं ।’
उनले भने,‘सरकार यति हैसियतमा भएको प्रतिपक्षलाई निषेध गरेर जान चाहन्छ भने हामी स्वभाविक रुपमा चिन्तित हुन्छौं।’ सरकारलाई गल्ती सच्याउन बाध्य बनाएको भन्दै संवैधानिक परिषदमा भएको छलछामलाई पनि सच्याउन बाध्य बनाइने बताए ।
उनले भने, ‘चिकित्सा शिक्षा विधेयक पारित भएको छ । तर, त्यसमा जुन प्वाल राखिएको छ, जुन बदनीयतका साथ जे गर्छु भनिएको छ, त्यो गर्न दिइन्न । कांग्रेस उभिन्छ र चिकित्सा शिक्षा सुधारमा अवरोध गर्ने खोज्ने कदमलाई रोक्छौं ।’
कांग्रेसले पनि सरकारलाई देखाइदिन्छु भन्ने हो केन्द्रमा मात्र होइन, प्रदेशमा पनि संसद रोक्न सक्ने भएपनि जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने उनले बताए । संसद चलेपनि सरकारसँग हिजोको जस्तो सम्बन्ध भने नहुने उनले प्रष्ट पारे ।
कांग्रेस सांसद थापाले भने, ‘हामीसँग यो सदनमा जस्तो व्यवहार गरिएको छ, एउटा दुई वटा घटनाबाट त्यो बिर्सन सक्दैनौं । मनमा लिइराख्छौं र त्यो अनुरुप व्यवहार गर्छौं ।’
मदत गर्नुपर्ने ठाउँमा मदत गर्ने र प्रतिवाद गर्नुपर्ने ठाउँमा सरकारको प्रतिवाद गर्ने भन्दै उनले भने, ‘प्रतिपक्ष देखिएन भनेको होइन सरकारले । भोलिदेखि सडकबाट पनि सदनबाट पनि प्रतिकक्ष कहाँ छ भनेर देखाउँछौं । प्रतिपक्ष कस्तो हुनेरहेछ भनेर आश्चर्यचकित हुने पालो सरकारको ।’