वालिङ, २३ माघ : आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजले नेपालमा लगानीका लागि आफू तयार रहेको बताउनुभएको छ । जन्म जिल्ला स्याङ्जाको वालिङमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा आचार्य बालकृष्णले शैक्षिक संस्था, जडीबुटी, उद्यान र उद्योगको विकासका लागि पहिलो चरणमा एकसय करोड लगानी गर्ने बताउनुभयो ।
मैले यहाँबाट कमाएर लाने पनि होइन यहीको विकासका लागि लगानी गर्छु,” आचार्य बालकृष्णले भन्नुभयो, “तपाईंहरुको माया र स्नेह मात्रै पाए पुग्छ अरू लगानीका लागि कुनै चिन्ता छैन योजना सफल बनाउन एक सय करोड होइन त्यो भन्दा पनि बढी म खर्च गर्छु ।”
वालिङ उद्योग वाणिज्य सङ्घले वालिङको विकासका लागि उद्योगधन्दाहरु सञ्चालनका लागि ज्ञापनपत्र उहाँलाई बुझाएको थियो । आचार्य बालकृष्णले उद्यमशीलताको विकासका लागि तयार रहेको बताउँदै सङ्घलाई जग्गा उपलब्ध गराउन आग्रह गर्नुभयो ।
वालिङ नगरपालिका–६ भरुवामा जन्मिनुभएका आचार्य बालकृष्णलाई महोत्सवस्थलमा वालिङ नगरप्रमुख दिलीपप्रताप खाँण र वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष शोभाकान्त पौडेलले सम्मान गर्नुभएको थियो ।(रासस)