काठमाडौं, ५ फागुन । महानायक राजेश हमाल बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको कुरा गर्दा भक्कानिएर रोएका छन् ।
प्राइम टाईम्स टेलिभिजनबाट शनिबार राति प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन्” मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महानायक हमाल निर्मलाको घट्ना सम्झिएर रोएका हुन् ।
पत्रकार धमलाले निर्मला पन्तको बलात्कारपछि हत्या भएको यतिका दिन भैसक्यो ? अहिलेसम्म अपराधी पक्राउ परेको छैन ? भनेर सोधेको प्रश्नमा हमाल एकाएक भक्कानिए ।
उनले लामो श्वाँस तान्दै भने,”ऋषिजी त्यो तपाईलाई पनि थाहा छ, मलाई पनि थाहा छ । एउटा बिडम्बना हो । जुन मुलुकले आफ्नै जनसमूदायमा भएको अन्याय र अत्याचारको समाधान निकाल्न सक्दैन्, त्यो कुरा त त्यो मुलुकको लागि चाहीँ लाजमर्दो हो नि । आज यतिका महिना, समय बित्दा पनि तपाई हामी यसै विषयमा रुमलिरहेका छौं । कुरा गरिरहेका छौं । भनेपछि त्यही स्तरमा, त्यही समूदायमा बसेकाहरुले आफ्नो सुरक्षा र सहजताको लागि सही वातावरण कसरी पाउँछ भनेर उहाँहरु कसरी ढुक्क हुन सक्नुहुन्छ ?”