Logo

नेपालको विकास र समृद्धिको लागि विदेशी लगानी अपरिहार्य : भुषाल



काठमाडौं, २ चैत्र ।  पूर्व अर्थसचिव तथा राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका पूर्व कार्यकारी प्रमुख युवराज भुषालले सरकारले गर्न लागेको लगानी सम्मेलन स्वागतयोग्य भएको बताउँदै सराहना गरेका छन् । उनले नेपालको विकास र समृद्धिको लागि विदेशी लगानी अपरिहार्य रहेको सुनाए ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा भुषालले सरकारले खर्च कुरा ह«ास हुँदै गएको भन्दै यतातर्फ ध्यान दिनुपर्ने पनि सुझाए । उनले भने,‘अहिले विकासको लागि अनुकुल वातावरण छ, अहिले पनि सरकारसँग १ सय ८० अर्ब क्यास ब्यालेन्स छ, भएको पैसा खर्च गर्न नसकेको अवस्था छ, यतातर्फ पनि सरकारले विशेष ध्यान पुर्याउनुपर्छ।’

उनले विगतमा गरिएका विदेशी लगानीको प्रतिबद्धताहरु किन आएनन् ? भनेर पनि समिक्षा गर्नुपर्नेमा जोड दिए । उनले थपे,‘यसअघिको लगानी सम्मेनलमा सम्झौता भएका र सहमत गरिएका लगानी किन आएन ? यसबारेमा पनि कुरा कोट्याउनुपर्छ ।’

लगानीको लागि मुलुकको शान्ति, सुरक्षा पहिलो नम्बरमा पर्ने भएकोले यतातर्फ पनि सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ । उनले भने,‘अहिले विप्लव समूहले एनसेलसँग ७० अर्ब कर नउठाएको भन्दै गतिविधि गरेको अवस्था छ, उता सर्वोच्च अदालतले पनि एउटा प्रधानन्यायाधीशले एउटा फैसला गर्ने र अर्कोले अर्कै फैसला गर्ने गरेको छ, राष्ट्रपति एकताको प्रतिक भएकोले सबैलाई बोलाएर एउटा अण्डरस्ट्याण्डिङ गर्नुपर्छ ।’

उनले मुलुकको शान्ति, सुरक्षाको अवस्था शासन व्यवस्थासँग जोडिएकोले यसतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताए ।  उनले नेपालमा विदेशी लगानी आउनको लागि कानुनी संरचनापनि जटिल र दोधारे किसिमको रहेकोले यसलाई पनि सरल बनाउनुपर्नेमा जोड दिए । उनल भने,‘कानूनी प्रक्रियालाई छिटोछरितो बनाउनुपर्छ । नेपालको व्युरोक्रेसीलाई कम्टिटिभ बनाउनुपर्छ ।’ उनले सरकारले ‘वन स्टप सर्भिस’ दिनेतर्फ सरकार अघि बढ्नुपर्ने धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्