काठमाडौं, ४ चैत्र । नयाँ शक्ति नेपालले सेना परिचालनको अधिकार प्रधानमन्त्री मातहत ल्याउने तयारीप्रति गम्भिर आपत्ति जनाएको छ ।
आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीको एक्लो निर्णयले सेना परिचालन गर्न पाउनेगरी आउन लागेको विधेयकमा असन्तुष्टि जनाएका हुन्।
उनले भने,‘सुरक्षा परिषद्लाई कुण्ठित गरी प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्न सक्ने प्रावधान राखेर मस्यौदा भइरहेको पाइएको छ, सुरक्षा परिषद्बाटै सेना परिचालन गर्ने प्रचलन संसारभर छ।’
सुरक्षा परिषद्को बैठक बस्न नसक्ने परिस्थितीको कल्पना गर्नु नै हाँस्यास्पद रहेको उनको भनाई छ। यस्तो व्यवस्थाले सैन्य ‘कु’लाई निमन्त्रणा गर्ने उनले बताए। सरकारले विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध, नागरिकता विधेयक, सिके राउतसँगको सम्झौता लगायतका विषयमा बोलेका थिए।
उनले भने,‘राउत निःशर्त आफ्ना पूर्व मान्यता र अडानलाई परित्याग गर्न तत्पर भएका हुन् भने त्यो निश्चय नै स्वागतयोग्य कुरा हो। तर, सम्झौतामा उल्लेखित शब्दको भावना र घटनाक्रम त्यस्तो देखिएको छैन, न्यायिक प्रक्रियामा रहेको व्यक्तिसँग हठात सम्झौताले सरकारले न्यायिक प्रक्रियामा हस्तक्षेप गरेको र सेटिङ्ग राज्यको विकृत अभ्यासतिर उद्यत भएको पुष्टि हुन्छ।’
तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal.com