काठमाडौं, ५ चैत्र । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मन्त्रीमण्डल पुनर्गठनबारे आफूलाई कुनै जानकारी नभएको स्पष्ट पारेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीको सांगठनिक एकीकरणको काम अनावश्यक रुपमा लम्ब्याइएको टिप्पणी गरेका छन् । पार्टीको तल्लो तहसम्मको एकीकरणको काम लम्ब्याइएकोमा आफू चिन्तित रहेको पनि उनले गुनासो पोखे ।
उनले थपे,”पार्टी एकताको काम छिटो सम्पन्न गर्नुपर्छ, तर, धेरै ढिलो भएको छ । यसले गर्दा पार्टीका कार्यकर्ताहरुमा पनि निराशा छाएको छ ।” उनले अठोटका साथ काम गरे एक महिनाभित्र पार्टीको तल्लो तहसम्मको एकीकरणको काम टुंगो लाग्ने विश्वास दिलाए ।
उनले अध्यक्ष प्रचण्ड अमेरिकाबाट फर्केपछि पार्टीको सांगठनिक एकीकरणको काम टुंगोमा पुग्नेमा आफू आशावादी रहेको पनि बताए । त्यस्तै, उनले सिके राउतलाई राष्ट्रिय राजनीतिकको मूलधारमा ल्याउने सरकारको निर्णय सही भएको पनि बताए ।
तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal.com