काठमाडौं १२ चैत । नेपालको प्रत्यक्ष वैदेशिक लगानीमा चिनियाँ हिस्सा बढी देखिएको छ । पछिल्लो पाँच वर्षमा भारतलाई पछि पार्दै चिनियाँ लगानीकर्ताले बढी प्रतिबद्धता जनाएका हुन् । नेपालमा चिनियाँ लगानी चार खर्ब नाघेको उद्योग मन्त्रालय र लगानी बोर्डको तथ्यांक छ । विश्वमै लगानी बढाइरहेको चीनले नेपालमा हालसम्म करिब चार खर्ब २० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाइसकेको छ । पछिल्लो केही वर्षयता नेपालमा चीनको प्रत्यक्ष वैदेशिक लगानी बढिरहेको छ ।
२०७२ मा भारतले लगाएको नाकाबन्दीका कारण नेपाल चीनसँग नजिकिन गएपछि चिनियाँ लगानीकर्ता उत्साहित भएका छन् । कुल गार्हस्थ उत्पादनका हिसाबले चीन विश्वको दोस्रो ठूलो देश हो । प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्ने चीन विश्वको तेस्रो ठूलो देश हो ।
भारतमै लगानीको प्रतिफल सुनिश्चितता बनेपछि भारतीय लगानीकर्ता स्वदेशमै केन्द्रित भएका छन् । नेपाल–भारत उद्योग वाणिज्य संघका कार्यकारी सदस्य शशिकान्त अग्रवालका अनुसार भारतले पछिल्लो १० वर्षमा स्वदेशमै लगानीका लागि सुविधा दिएको छ ।
उनले भने, ‘भारतीय सरकारले निर्यातमा विभिन्न चरणमा अनुदान दिएको छ । साथै हरेक प्रान्तले आफूआफूबीच प्रतिस्पर्धा गरेका छन् । प्रान्त–प्रान्तबीच कसले बढी अनुदान दिने भन्ने प्रतिस्पर्धाले पनि नेपालमा भारतबाट आउने लगानीमा कम आएको हो ।’ नेपालमा हाइड्रो, पर्यटनबाहेक अन्य क्षेत्रमा विदेशी लगानीले प्राथमिकता नपाउनु अर्काे कारण भएको उनको भनाइ छ ।