सबैको प्यारो नभै नहुने ऋषि धमला
बालीमा लाग्ने झारपातलाई बेलाबेलामा उखेलेर फाल्नुपर्छ
चैत १७, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक शक्तिहरुलाई नयाँ संकल्पका लागि एकजुट हुन आग्रह गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालको २१ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले अझै पनि राष्ट्रका प्रमुख समस्याहरु समाधानका लागि एकता आवश्यक रहेको बताएका हुन् ।
अप्ठ्यारो परिस्थितीमा पनि निर्वाचन सकेर संविधान कार्यान्वयन प्रक्रियामा देशलाई लैजानुमा सबै राजनीतिक शक्तिहरुबीच सहकार्य भएको दाहालले बताए । कोही एक दल वा व्यक्तिको पहलमा अहिलेको अवस्था नआएको उनले स्पष्ट पारे ।
“सत्तापक्ष र प्रतिपक्ष छ । आलोचना र विवाद हुनुपर्छ । तर राष्ट्रहितमा सबैबीच समझदारी आवश्यक छ ।” उनले भने ।
संविधान संशोधनको मागप्रति लक्षित गर्दै दाहालले सबै असन्तुष्टीलाई सम्बोधन गरेर संविधानलाई गतिशिल दस्ताबेजको रुपमा स्थापित गर्नुपर्ने दाहालले बताए । उनले समझदारीका आधारमा संविधान संशोधन गर्न सकिने संकेत पनि गरे ।
देशका लागि अहिलेको आवश्यकता विकास भएको भन्दै उनले २१ शताब्दीको परिस्थितीमा राष्ट्रिय अन्तराष्ट्रिय सहयोग लिएर विकास गर्नुपर्ने बताए ।
नेपाललाई गरिब देशको रुपमा नभै विकसित देशको रुपमा स्थापित गर्नका लागि सबै राजनीतिक शक्तिहरुबीच एकताको संकल्प गर्नुपर्ने बेला आएको दाहालले बताए ।
हिजो सकिएको लगानी सम्मेलनले विकास र समृद्धिमा धेरै महत्वपूर्ण भूमिका खेल्ने दाहालले बताए । मञ्चमा रहेका नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीलाई सम्बोधन गर्दै दाहालले छिमेकी देशहरुको सहयोग पनि आवश्यक रहेको बताए ।
पछिल्लो समय नेपालको ऐतिहासिक उपलब्धिमाथि आक्रमण र षडयन्त्र भइहेको भन्दै दाहालले चिन्ता व्यक्त गरेका छन् ।
“कतिपय मानिसहरुले मिडियामा ऐतिहासिक उपलब्धिलाई बडो तितो र नमिठोसँग आक्रमण गरेको देख्छु । त्यतिबेला चिन्ता लाग्छ । किन यसो गरिदैछ ? शान्ति सम्झौता प्रचण्ड एक्लैले गरेको त होइन । गिरिजाप्रसाद कोइरालासहित ७ राजनीतिक दलले पनि गरेका हुन् ।” दाहालले भने ।
आफू अमेरिका गएका बेला अपराधीको रुपमा चित्रित गरेर उजुरी गरेकोप्रति दाहालले असन्तुष्टी पाखे । “एउटा नेपालीले नै मलाई हत्यारको रुपमा दुनियाको अगाडि, नेपालभित्रै बसेर अलिअलि गर्न मिल्छ । नेपाली–नेपालीबीच आलोचना हुन सक्छ । तर विदेशमा बसेर नेपालको शान्ति सम्झौतालाई अपराधिक सम्झौताको रुपमा, हस्ताक्षरकर्तालाई अपराधीको रुपमा प्रस्तुत गरेर अन्तराष्ट्रिय जगतले पक्राउ गरेर जेल हाल्नुपर्यो भन्नु कति तर्क संगत छ ?” दाहालले भने ।
अमेरिका जाँदाको तितो अनुभव भन्दै दाहालले त्यसो भनेका हुन् । आफू वासिङ्टन डिसीमा बस्दा नेपाली कांग्रेस आवद्ध एउटा कमिटिले निर्णय गरेर प्रचण्डलाई अपराधीको रुपमा प्रस्तुत गरिएको भन्दै दाहालले मञ्चमा रहेका कांग्रेस नेता डा. रामशरण महतको ध्यानाकर्षणसमेत गराए ।
आफू डराएर यो अनुभव सुनाएको नभै श्रीमतीको उपचारमा जाँदा समेत त्यस्तो गरिएकोमा दुःख लागेका बताए ।
“मलाई अपराधी भन्ने हो भने नेपाली कांग्रेस पनि अपराधी नै होला । शान्ति सम्झौतामा त कांग्रेसले पनि हस्ताक्षर गरेको हो ।” दाहालले भने ।
प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएको बेला एफबीआईमा उजुरी परेको थियो । तिलक श्रेष्ठ नाम गरेका व्यक्तिले प्रचण्ड आतंककारी भएको भन्दै अमेरिका आएको बेलामा पक्राउ गर्न माग गरिएको थियो ।
फरक प्रसंगमा दाहालले राजतन्त्रको अन्त्यपछि पनि यो प्रक्रियालाई उल्ट्याउने कुरा निरङ्कुशतावादी शक्तिको दिमागमा रहिरहनु सामान्य भएको बताए । तर इतिहासको एउटा मञ्चमा मिल्काइएको कुनै पनि शक्तिलाई अब कसैले पनि आत्मसात नगर्ने दाहालले बताए ।
“संघीय लोकतात्रिक गणतन्त्र उल्ट्याएर फेरी पुरानै निरङ्कुशतन्त्र अब नेपालमा असम्भव छ । तर यो परिवर्तनलाई कमजोर पार्न चाँही खोजिरहेका छन् ।” दाहालले भने । बालीमा लाग्ने झारपातलाई बेलाबेलामा उखेलेर फाल्नुपर्ने उनको तर्क थियो । त्यस्ता झारपात उखेल्न पत्रकारिता क्षेत्रले पनि भूमिका खेल्नुपर्ने दाहालले बताए ।
क्बलको २१ वर्षमा प्रवेश गरेको अवसरमा दाहालले क्लब र यसका संस्थापक ऋषि धमलालाई बधाई तथा शुभकामना व्यक्त गरे ।
“एउटा मान्छेले आफ्नो पेशाको लगन सक्रियता र मिहिनेतले कतिसम्म सफल हुन्छ भन्ने उदाहरण ऋषि धमला र रिपोर्टर्स क्लब हो ।” दाहालले भने । दाहालले धमला र क्लबबाट मिहिनेत र लगनशिलताको नक्कल गर्नुपर्नेसमेत बताए ।
देश र जनताका लागि धमलाको भूमिका महत्वपूर्ण भएको उनले बताए । २०६३ साल असार २ गते राति धमलासँग अन्तरवार्ता दिएको स्मरण गर्दै दाहालले त्यसबेला राम्रोसँग चिन्न नसकेको धमलालाई अहिले चिनिसकेको बताए ।
“राति १ बजे विना स्वीकृति अन्तरवार्ताका लागि आउनुभयो । भोली अन्तवार्ता दिन्छु भन्दा पनि मान्नुभएन । राति नै खुला राजनीतिमा आएपछि उहाँसग दिएको अन्तरवार्ता पहिलो हो । सुरुमा त कस्तो जिद्धी रहेछ भनेर रिस पनि उठ्यो ।” दाहालले भने ।
“केही समयअघि मैले भनेको थिएँ माया वैगुनी नभै नहुने । तर अहिले फेरिएको छ । त्यो गित योग्य छैन । सबैको प्यारो नभै नहुने ऋषि धमला बनिसक्नुभएको छ ।” दाहालले भने ।
धमलाले बनाएको प्लेटफर्म सबैलाई चाहिने अवस्था आएको भन्दै दाहालले धमलाको हमला सहनै पर्ने बताए ।