काठमाडौं, १७ चैत । सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सरकारले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभुति गरेको स्पष्ट पारे । यो वर्ष नेपालको मिडिया क्षेत्रमा विशेष काम भएको उनको भनाई छ ।
रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा आइतबार आयोजित विशेष समारोहमा उनले भने,‘यो वर्ष मिडियाको क्षेत्रमा विशेष हुँदैछ । समानुपातिक समावेशी विज्ञापन र क्लिन फिड लागु गर्दैछौं । के यो काम गर्नु नराम्रो हो ?’
सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले मिडिया क्षेत्र असुरक्षित नरहेको जिकिर गरे । उनले भने,‘यो वर्षबाट मिडिया क्षेत्र बरु सुरक्षित भएको छ । सरकारले दम्भ देखाएको छैन् । हामी काम गर्छौं ।’ पत्रकारको वृद्धिविकासको लागि ५ करोड ३४ लाख छुट्याएको उनको भनाई छ । प्रेस स्वतन्त्रतामा कुनै पनि हमला नहुने उनको दाबी छ ।
उनले सरकारले मिडियालाई व्यवस्थित गर्नको लागि छाता ऐन ल्याउन लागेको पनि सुनाए । उनले थपे,‘प्रेस स्वतन्त्रता अपहरित हँदैन् । यो सरकारलाई ज्ञानेन्द्रसँग तुलना नगरे हुन्छ । उसको र यो सरकारको पृष्ठभूमि र उधेश्य नै फरक छ । कुनै तुलना हुनै सक्दैन् ।’
मन्त्री बाँस्कोटाले पत्रकार ऋषि धमलाको भूमिकाको प्रशंसा गरे । उनले भने,‘हामी एउटै पेपरमा सँगै काम गरेका थियौं । त्यतिवेलादेखि नै उहाँको गतिशिलता राम्रो थियो । आज ऋषि धमला न्यूज मेकिङ गर्नुहुन्छ, ब्रेकिङ न्यूज दिनुहुन्छ ।’