काठमाडौं १९ चैत । विराटनगर र जनकपुर विमानस्थलबाट काठमाडौंका लागि उडेका ६ जहाज विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गराइयो । मौसम खराबीले काठमाडौंमा अवतरण हुन नसकेपछि आइतबार राति विराटनगरमा आकस्मिक अवतरण गराइएको थियो ।
नागरिक उड्डयन प्राधिकरण विराटनगरका प्रमुख टेकनाथ सिटौलाका अनुसार काठमाडौं र काठमाडौं जाने रुटको मौसम खराबीले विमान अवतरण हुन नसकेपछि विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो ।
‘बुद्ध एयरका ३, यतिका २ र श्री एयरलाइन्सको १ गरी ६ जहाज विराटनगरमा आकस्मिक अवतरण गराइएको थियो,’ उनले भने, ‘ती विमान सोमबार बिहान ८ बजेसम्म विराटनगरबाट काठमाडौंका लागि उडेका थिए ।’
सिटौलाले जनकपुरबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको विमान पनि विराटनगरमा आकस्मिक अवतरण गराएर यात्रुलाई यहाँको होटलमा राखिएको बताए । विराटनगर विमानस्थलमा सोमबार जहाजको चाप बढेको थियो । बुद्ध एयरको १०, यतीको ५ र श्री एयरलाइन्सको २ उडान भएको प्राधिकरणले जनायो । कान्तिपुरबाट