चैत २६, काठमाण्डौ । राजधानी काठमाडौंमा यात्रुहरूलाई सुविधा दिने उद्देश्यले बिहान पाँचदेखि राति १० बजेसम्म सार्वजनिक यातायात चलाउने व्यवस्था गर्न लागिएको छ । यसैगरी अनिवार्यरूपमा टिकटको व्यवस्था गर्नुपर्ने, जथाभावी रूपमा यात्रु चढाउन र ओराल्न नपाइनेजस्ता नियम ल्याउन लागिएको छ ।
पहिले ल्याइएका नियमहरू कार्यान्वयन नभइरहेको अवस्थामा बन्न लागेका नियम कार्यान्वयन हुनेमा आशंका व्यक्त गरिएको छ ।
काठमाडौं महानगरपालिकाले राजधानीमा चल्ने सार्वजनिक सवारीसाधन राति १० बजेसम्म सञ्चालन गर्नुपर्ने अनिवार्य व्यवस्था ल्याउन लागेको छ । ऐन प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएपछि राति १० बजेसम्म सार्वजनिक साधन अनिवार्य सञ्चालन गर्नुपर्ने व्यवस्था लागू हुनेछ ।
महानगरपलिकाले सवारी तथा यातायात व्यवस्थापन ऐन २०७५ जारी गरी महानगरभित्रका रुटमा सञ्चालन हुने सार्वजनिक सवारी साधनले बिहान ५ देखि राति १० बजेसम्म सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको हो । कात्तिकदेखि माघ मसान्तसम्म भने बसले बिहान ५ देखि राति ९ बजेसम्म सेवा दिनुपर्ने ऐनमा व्यवस्था गरिएको छ । तर अहिलेकै अवस्थामा बिहानदेखि रातिसम्म सेवा दिन गाह्रो हुने बसका कर्मचारीहरूले बताएका छन् ।
यसैगरी ऐनमा महानगरसँग स्वीकृति नलिई सार्वजनिक सवारी साधनमा कुनै विज्ञापन राख्न नपाइने, बसमा फोहोर फाल्ने भाँडो, अग्नि नियन्त्रक उपकरण अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ । चालक र सहचालकलाई पोसाक उपलब्ध गराउने, यात्रुका गुनासो सुन्ने र समस्या समाधान गर्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्थासमेत ऐनमा गरिएको छ ।
जथाभावी यात्रु चढाउने र ओराल्ने, अश्लील बोल्ने, यौनजन्य दुव्र्यवहार गर्ने, मदिरा र सुर्तीजन्य वस्तुको प्रयोग गर्नेलाई कारबाही हुने व्यवस्थासमेत ऐनमा गरिएको छ । ऐनमा मदिरा तथा सुर्तीजन्य वस्तुको सेवन नहुने, अश्लील बोल्न रोक लगाउने, यौनजन्य हिंसा हुन नदिने दायित्व सहचालकलाई हुने र भएमा कारबाही हुने व्यवस्था राखिएको छ ।
यसैगरी सार्वजनिक यातायातका साधनमा अनिवार्य टिकटको व्यवस्था गर्नुपर्ने छ । टिकट नलिने वा कुनै शर्तमा निर्धारित दरभन्दा कम भाडा तिर्ने जस्ता कार्य गरे पनि कारवाही हुनेछ । तोकिएको भाडा नतिरी यात्रा गरे वा गर्न खोजे यात्रुले पनि कारवाही भोग्नु पर्नेछ ।
सार्वजनिक यातायातका साधनको यात्रा सुरक्षित र व्यवस्थित नभएको गुनासो वर्षौंदेखि हुँदै आएको छ । त्यसैले कानुन नै बनाएर त्यसलाई थप व्यवस्थित गर्ने प्रयास काठमाडौं उपत्यकाबाट सुरु गरिने भएको छ । कानुन बन्नु सकारात्मक हो तर त्यसको कार्यान्वय पक्ष कतिको सबल हुने हो त्यसले राजधानीको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउनेछ ।