काठमाडौं, २६ चैत । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले आफूले पत्रकारितामा भोगेका अनुभव साटेका छन् । हिजो (सोमबार) कलंकीस्थित एडमार्क कलेजमा आमसञ्चार तथा पत्रकारिता विषयका विद्यार्थीमाझ पत्रकार धमलाले आफ्नो अनुभव बाँडेका हुन् ।
स्नातक तहका छात्रछात्रालाई आफूले पत्रकारिता क्षेत्रमा भोगेका उतारचढावका अनुभव बाँडेका धमलाले पत्रकार बन्न चाहनेहरुलाई सैद्धान्तिक र विविध व्यावहारिक ‘टिप्स’ पनि सिकाए । लगनशीलता र इमानदारिता जुनसुकै क्षेत्रका लागि आवश्यक हुने बताउँदै उनले भने– ‘पत्रकारिता क्षेत्रका लागि त यस्ता कुरा झनै आवश्यक हुन्छन्, सफल पत्रकार बन्न निरन्तर लगाव, मेहनत र साधना चाहिन्छ ।’
यही अभ्यासलाई निरन्तर अनुशरण गर्दा नेपाली पत्रकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित भएको उनको भनाइ थियो । टेलिभिजनमा देखिनु, रेडियोमा सुनिनु, अखबार र अनलाइन माध्यममा समाचार र समाचारमूलक सामग्री पस्किनु सामान्य अभ्यासजस्तो लागे पनि यी माध्यममा निरन्तर टिक्नु सजिलो काम नभएको धमलाले बताए ।
आमसञ्चार र पत्रकारिता शिक्षा धेरै कलेजमा पठनपाठन हुने गरे पनि आमसञ्चार माध्यमले खोजेका योग्य जनशक्ति बजारमा अझै अभाव भएको उनको भनाइ थियो ।