Logo

२०७५ सालमा कसकसले गरे विदेश भ्रमण ?



चैत ३०, काठमाण्डौ । २०७५ सालमा राष्ट्रपतिदेखि प्रधानमन्त्री र अन्य मन्त्रीहरूले उल्लेख्य रूपमा विदेश भ्रमण गरे । मन्त्रालयगत काममा प्रतिस्पर्धा नदेखिए पनि उनीहरूबीच विदेश भ्रमण प्रतिस्पर्धा देखियो । एक्लै र परिवारदेखि जम्बो टोली लिएर समेत उनीहरू विदेश भ्रमणमा निस्किएका थिए ।

२०७५ सालमा राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रिहरुले विभिन्न बहानामा पटक–पटक विदेश यात्रा गरे । औपचारिक भ्रमणदेखि निजीसम्मका भ्रमणका लागि उनीहरूबीच एक किसिमको प्रतिस्पर्धा नै देखियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी
राष्ट्रप्रमुख रहेकी विद्यादेवी भण्डारी यो वर्ष विदेश भ्रमणमा निकै व्यस्त देखिइन् । उनले कात्तिक १४ देखि चार दिनका लागि कतार भ्रमण गरिन् । यस्तै संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनका लागि मंसिर १७ देखि पोल्याण्डको भ्रमण गरिन् । भण्डारी फागुन २७ देखि २९ गतेसम्म महिला सम्मेलनमा भाग लिन अमेरिका पुगिन् ।

प्रधानमन्त्री केपी शर्मा ओली
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका मन्त्री तथा नेताहरुलाई देश र जनताको हकहितमा केन्द्रित भएर काम गर्न भन्दै पटक–पटक निर्देशन त दिए तर आफैँ विदेश धाइरहे । प्रधानमन्त्री केपी ओली यस वर्ष पहिलोपटक असार ५ देखि १० गतेसम्म चीनको औपचारिक भ्रमणमा निस्किए । उनीसहितको प्रतिनिधिमण्डलले अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७३औं महासभामा भाग लियो । प्रधानमन्त्री ओलीले कोस्टारिकाको औपचारिक भ्रमण पनि गरेका थिए ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल
नेकपाका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल भदौ २१ मा ७ दिनका लागि भारत भ्रमणमा गएका थिए । भारतबाटै उनी चार दिनका लागि चीन भ्रमणमा गए । त्यसपछि कात्तिक ३० गते श्रीमतीको उपचार गर्न भन्दै ३ दिनका लागि सिङ्गापुर भ्रमण् गरेका थिए । पछील्लो समय उनी फागुन २७ गते १० दिनको लागि अमेरिका गए । श्रीमतीकै उपचारका लागि उनी अमेरिका गएका हुन् ।

अर्थमन्त्री डा. युवराज खतिवडा
वैशाख २० देखि २३ गतेसम्म अर्थमन्त्री डा. युवराज खतिवडासहितको प्रतिनिधिमण्डल फिलिपिन्सको मनिलामा भएको एसियाली विकास बैङ्कको बोर्ड अफ गभर्नर्स बैठकमा सहभागी भएको थियो । त्यस्तै भारतको मुम्बईमा आयोजित एसियाली पूर्वाधार लगानी बैङ्कको तेस्रो वार्षिक बैठकमा पनि अर्थमन्त्री खतिवडासहित प्रतिनिधिमण्डल सहभागी भयो । विश्व बैङ्कको केन्द्रीय कार्यालय अमेरिकामा भएको एक कार्यक्रममा पनि उनले सहभागिता जनाए ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
मङ्गोलियाको उलनाबटारमा आयोजित भूपरिवेष्ठित विकासोन्मुख राष्ट्रका लागि अन्तर्रा्ष्ट्रिय प्रबुद्ध समूहको मन्त्रीस्तरीय सम्मेलनमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भाग लिएका थिए । त्यसको केही समयपछि मन्त्री ज्ञवालीसहितको प्रतिनिधिमण्डलले पार्चुगल, बेल्जियम र लक्जेम्बर्गको भ्रमण ग¥यो । भियनामा सम्पन्न अन्तर्रा्ष्ट्रिय आणविक ऊर्जा सङ्गठनको ६२औं महासम्मेलनमा ज्ञवालीसहितको प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो । त्यस्तै ज्ञवालीले जापान र थाइल्याण्डको पनि औपचारिक भ्रमण गरे । उनको टोली प्रतिनिधिमण्डल संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेसँगको भेटवार्ताका लागि अमेरिका पुग्यो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री, गोकुलप्रसाद बास्कोटा
इथियोपियाको एडिस एबाबामा आयोजित ‘यूपीयू’को ‘सेकेन्ड एक्स्ट्राअर्डिनरी कङ्ग्रेस’मा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटा सहभागी भए । त्यस्तै मन्त्री बाँस्कोटाले कोरियामा सम्पन्न ‘आईसीटी मिनिस्टेरियल मिटिङ २०१८’ र ‘आईओटी कोरिया एक्जिबिसन २०१८’मा सहभागिता जनाए । उनी नयाँ दिल्लीमा आयोजित ‘इन्डिया मोबाइल कङ्ग्रेस २०१८’ र दुबईमा आयोजित ‘आईटीयू प्लेनिपोटेन्सियरी कन्फेरेन्स (पीपी–१८)’मा पनि सहभागी भए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ ‘चाइना नेपाल रेलवे टेक्निकल एन्ड नेगोसिएसन फर रेलवे डेभलपमेन्ट इन नेपाल’ विषयक कार्यक्रममा सहभागी हुन चीन गए । त्यसको केही समयपछि फेरि उनी चीनको बेइजिङमा सम्पन्न ‘वल्र्ड ट्रान्सपोर्ट कन्भेन्सन २०१८’मा भाग लिन पुनः चीन गए । मन्त्री महासेठले भारतको नयाँ दिल्लाीमा भएको ‘मुभ ः ग्लोबल मोबिलिटी समिट’मा भाग लिए । त्यसैगरी अलानबटार मङ्गोलियनमा सम्पन्न ‘इलेभेन्थ रिजनल ईएसटी फोरम इन एसिया’ कार्यक्रममा मन्त्री महासेठसहितको प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो । त्यसैगरी मन्त्री महासेठसहितको प्रतिनिधिमण्डलले चीनको छेङ्दुमा आयोजित ‘दि बेल्ट एन्ड रोड कन्ट्रिज (रिजन्स) इन्टरप्राइजेज डेस्टिनी कम्युनिटी कोअपरेसन एन्ड डेभलपमेन्ट कन्फेरेन्स’ र ‘२०१८ बेल्ट एन्ड रोड रेल ट्रान्जिट इन्टरनेसनल समिट’मा सहभागिता जनाएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल
चीनको युनान प्रान्तको कुनमिनमा भएको ‘थर्ड फोरम अन चाइना–साउथ एसिया टेक्नोलोजी ट्रान्सफर एन्ड कोलाबोरेटिभ इन्नोभेसन’ विषयक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल सहभागी भएका थिए । त्यस्तै, भारतको नयाँ दिल्लीमा सम्पन्न दक्षिण एसियाली विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा शिक्षामन्त्री पोखरेलले सहभागिता जनाएका थिए । त्यस्तै मन्त्री पोखरेल कोरियाको सियोलमा सम्पन्न ‘२०१८ ग्लोबल आईसीटी लिडरसिप फोरम’मा पनि सहभागी भए । अस्ट्रियाको भियनामा भएको आईएईए मिनिस्टेरियल कन्फेरेन्स अन न्युक्लियर साइन्स एन्ड टेक्नोलोजी ः एड्रेसिङ करेन्ट एन्ड इमर्जिङ डेभलपमेन्ट च्यालेन्जेज’ कार्यक्रममा पनि मन्त्री पोखरेल सहभागी भए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट
स्विट्जरल्यान्डको जेनेभामा जेठ दोस्रो साता आयोजना भएको अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठनको १०७औं सम्मेलनमा नेपालबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसहितको प्रतिनिधिमण्डल सहभागी भएको थियो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसहितको प्रतिनिधिमण्डलले चीनको छेङ्दुमा आयोजित ‘दि सेभेन्टिन्थ वेस्टर्न चाइना इन्टरनेसनल फेयर (डब्लुसीआईएफ)’ कार्यक्रममा सहभागिता जनायो । त्यसैगरी मन्त्री पण्डितसहितको प्रतिनिधिमण्डलले भारत भ्रमण गर्यो । उपप्रधानमन्त्री रहेका स्वास्थ्यमन्त्री उपेन्द्र यादव कानुनमन्त्री भानुभक्त ढकाल, कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मातृका यादव, वनमन्त्री शक्तिबहादुर बस्नेत, र ऊर्जामन्त्री वर्षमान पुन आदि पनि यस वर्ष विदेश भ्रमणमा व्यस्त देखिए । यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र खानेपानी मन्त्री विना मगर पनि विदेश भ्रमणमा गएका थिए ।



प्रतिक्रिया दिनुहोस्