Logo

‘नेपालमा डाउन सिन्ड्रोमको गर्भावस्थामै स्क्रिनिङ गर्ने मापदण्ड बनिसकेको छैन’ : नेसोग (विज्ञप्तीसहित)



काठमाडौं, ३ बैशाख । नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग) ले नेपालमा गर्भावस्थामै डाउन सिन्ड्रोमको स्क्रिनिङ गर्ने मापदण्ड अहिले नबनेको बताएको छ। पूर्वसांसद गायत्री साहले ‘डाउन सिन्ड्रोम’ भएको भनी नवजात शिशुलाई अस्पतालमै छाडेपछि नेसोगले विज्ञप्ति जारी गर्दै ‘डाउन सिन्ड्रोम’ शिशुबारे आफ्नो धारणा सार्वजनिक गरेको हो।

साहले अस्पताल र चिकित्सकको लापरबाहीको कारणले बच्चा त्यस्तो जन्मेको आरोप लगाउँदै आएकी थिइन्। उनले मेडिसिटी अस्पतालमा गत फागुन २८ गते शल्यक्रियाबाट बच्चा जन्माएकी थिइन्। नेसोगले भनेको छ, ‘नेपालमा उपलब्ध प्रविधि र प्रचलित उपचार प्रणालीलाई ध्यानमा राख्दै कुनै पनि महिलाको ११ देखि १३ हप्ताको अवधिभित्र अल्ट्रासाउन्ड प्रविधिबाट डाउन सिन्ड्रोम लगायतका वंशाणुगत रोगबारे केही सम्भावित संकेत प्राप्त गर्न सकिने प्रावधान भए तापनि त्यस्ता प्रकारका लक्षणहरुलाई यकिनको रुपमा भन्नसक्ने अवस्था रहेको देखिँदैन।’

नेसोगका अनुसार नेपालमा हालसम्म डाउन सिन्ड्रोमको गर्भावस्थामै स्क्रिनिङ गर्ने मापदण्ड बनिसकेको अवस्था छैन। त्यसैगरी उक्त रोगको पहिचान गर्नका लागि गर्भभित्र बढ्दै गएको सालको टुक्रा अथवा पानी निकालेर वंशाणुगत परीक्षण गर्नुपर्ने हुन्छ, जुन अत्यन्तै खर्चिलो तथा झन्झटिलो हुन्छ ।

यसरी गरिएको परीक्षणमा समेत गर्भपतन हुन सक्ने प्रबल सम्भवना रहने हुनाले नेपालमा अपनाउने क्लिनिकल अभ्यास र नेपाली नागरिकको आर्थिक अवस्थालाई ध्यानमा राख्दै उक्त परीक्षणसम्बन्धी अभ्यासलाई प्रचलनमा नल्याएको नेसोगले बताएको छ।



प्रतिक्रिया दिनुहोस्