Logo

इन्टरनेशनल करातेका लागि मिसन गोजुरियो भारत प्रस्थान



भारतमा हुने इन्टरनेशनल कराते एण्ड किक बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउन नेपालको प्रतिनिधित्व गर्दै जापान गोजुरियो कराते डो मिसन सङ्घको राष्ट्रिय टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।पटनाको पाटलीपुत्र स्पोट्र्स कम्पेलेक्समा यही वैशाख ९ र १० गते हुने प्रतियोगितामा सहभागी हुन उक्त सङ्घका प्रमुख प्रशिक्षक केबि राना ९काजी० को नेतृत्वमा ३५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको हो । टोलीलाई बेलहियामा नेपाल भारतमैत्री समाजका अध्यक्ष शान्तकुमार शर्माले राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाइ गर्नुभएको थियो । उक्त प्रतियोगितामा नेपालसहित आठ देशले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा नेपालले विभिन्न उमेर समूह र तौल समूहमा सहभागिता जनाउने प्रमुख प्रशिक्षक रानाले जानकारी दिनुभयो । उहाँले खेलाडीले कडा मेहनत गरिरहेकाले प्रतियोगिताका सबै प्रतिस्पर्धामा नेपालले जित हासिल गर्ने अपेक्षा गर्नुभयो । खेलाडीसँगै नेपालका तर्फबाट कराते महासङ्घका प्रदेश ५ अध्यक्ष भरतबहादुर केसी, जापान गोजु रियो कराते डो मिसन सङ्घका केन्द्रीय सचिव गिरी पुन, महासङ्घका रुपन्देही जिल्ला अध्यक्ष उमेश थापामगर र चिकित्सक डा विकास आले, खेलाडी र पत्रकारको टोली भारत गएको हो । उक्त टोलीमा रुपन्देही, कास्की, बाँके, सुर्खेत र बागलुङका खेलाडी सहभागी छन् । कराते महासङ्घका प्रदेश ५ अध्यक्ष केसीले नेपालका खेलाडीले विगतमा जस्तै स्वर्ण पदक जितेर नेपालको नाम विश्वसामु चिनाउन सफल हुने आशा गर्नुभयो । यसअघि सन् २०१७ मा भारतको पुनामा भएको साउथ एशियन च्याम्पियनसिपमा नेपालले १४ स्वर्ण पदक जितेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्