काठमाडौं, ८ बैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पदाधिकारी बैठक सुरु भएको छ । लामो समयको रस्साकस्सीपछि पदाधिकारी बैठक सुरु भएको हो । आगामी पार्टीको एकता महाधिवेशनमा केन्द्रित रहेर बैठक बसेको एक नेताले जानकारी दिए ।
महाधिवेशनको मिति तय गर्नको लागि पदाधिकारी बैठक बस्न लागेको महामन्त्री एवम् सांसद चन्दा चौधरीले पत्रकार ऋषि धमलालाई जानकारी दिईन् । उनले भनिन्,‘एकल नेतृत्वमा जाँदा एक कार्यकाल महन्थ ठाकुरको नेतृत्वमो लिएर जाने कुरा भएको छ ।’ त्यस्तै, समसामयिक राजनीतिक विषयको बारेमा पनि पदाधिकारी बैठकमा छलफल हुने बुझिएको छ ।
पदाधिकारी बैठकमा सङ्घीय समाजवादी फोरमसँगको पार्टी एकिकरणका विषयसँगै समसामयिक राजनीतिक घटनाक्रमको समिक्षा गरी पार्टीको भूमिका तय गर्नेछ। बैठकमा दुई नम्बर प्रदेश सरकारको गतिविधि, कार्यशैलीको पनि समीक्षा गर्ने राजपाका नेताहरूले बताए। तीन दिन चल्ने बैठक दिउँसो १ बाट बबरमहलमा सुरु भएको हो ।