राजनबाबु श्रेष्ठ, सीईओ, सिप्रदी क्याम्पेन्स : हामी समृद्धितर्फ अघि बढ्यौं भनेर त भनिएको छ, तर समृद्धि के हो ? त्यसभित्र के के पर्छन् भनेर अध्ययन गरिएको छैन । जनताले पनि सरकार निर्माण गरिएको यतिका समय बित्दासम्म सरकारप्रति त्यति खुसी रहेको देखिन्न । पछिल्लो समय सरकारले निर्माण क्षेत्रको लागि चाहिने उपकरणमा त्यति ध्यान दिएको छैन । मुलुकको विकासको लागि पहिलो सर्त भनेकै पूर्वाधार विकास हो । हामीले अटो क्षेत्र पूर्वाधारसँग दाँजेर काम गर्न सक्यौं भने विकास निर्माणको क्षेत्रमा अघि बढ्न सक्छौं । तर, निर्माणको लागि चाहिने अत्यावश्यक उपकरण भित्र्याउने सम्बन्धमा अहिलेको सरकार त्यति जिम्मेवार भएर लागेको देखिन्न ।
सरकारको एक वर्षको कार्यकालको समीक्षा गर्ने हो भने पनि हामीले जे सोचेका थियौं त्यसअनुसारको प्रतिफल सरकारबाट पाउन सकेका छैनौं । जनताले खास दुःख पाइरहेको क्षेत्रलाई बेवास्ता गर्दै नयाँनयाँ योजना थप गर्दै जाने क्रममा सरकार देखिएको छ । यही गति र ढंगले सरकारले आफ्नो कार्यशैलीलाई अघि बढाइरहने हो भने यो पाँच वर्षको कार्यकालमा त्यति धेरै प्रगति होला भन्ने मलाई लाग्दैन ।
अहिले संसारका अन्य देशहरूलाई हेर्ने हो भने उनीहरू पूर्वाधार विकासको क्षेत्रमा हामीभन्दा कैयौं गुणा अघि बढिसकेका छन् तर हामीकहाँ विकासको चरण बल्ल सुरु हुन लागेजस्तै देखिएको छ । नेपाल अरू देशको विकास निर्माणको दाँजोमा पछि पर्नुको कारणहरू धेरै छन् । हामीले राजनीतिक परिवर्तनको लागि धेरै समय दियौं ।
अब त राजनीति सकियो विकास गर्नुपर्छ भन्ने समय आइसकेपछि पनि शीर्ष नेताहरूको ध्यान सत्ता र राजनीतिमै छन् । विकासका काममा मिलेर सहकार्य गरेर अघि बढ्नुपर्ने बेलामा प्रतिपक्षबाट पनि बाधाहरू उत्पन्न भइरहेको कुुरा अहिले छर्लङ्ग नै छ । त्यसकारण यदि नेपालको भलो चिताउने हो र यो पाँच वर्षभित्रमा मुलुकले विकासका न्यूनतम आधारभूत पक्षहरू पूरा ग¥यो भन्नु छ भने अबको समय जति छ सरकारका त्यसमा खटेर काम गर्नुपर्छ । सबै क्षेत्रलाई समेटेर विकासका कामहरू थाल्नुपर्छ । त्यसो गरियो भने हामीले नेपाललाई छिटो नै समृद्धि बनाउन सक्छौं । ०००