वैशाख १२, काठमाण्डौ । २०७२ सालको भुकम्पले क्षेतिग्रस्त ऐतिहासिक संपदाको पुननिर्माण सुस्त छ । काठमाडौँ र काठमाडौँ उपत्यका बाहिरका अन्य ऐतिहासिक संपदाको त कुरा छोडौँ देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जस्तो ऐतिहासिक संपदाको समेत पुननिर्माण अहिलेसम्म कछुवाको गतिमा छ । सिंहदरबार पुनर्निर्माणको काम अहिलेसम्म ३० प्रतिशत मात्रै सम्पन्न भएको छ ।
ऐतिहासिक महत्वको मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार नै भुकम्प गएको ४ वर्ष भैसक्दा पनि थला परिरहेको छ । २०७२ सालको भुकम्पले जिर्ण भएको सिंहदरबार भवनको अहिलेसम्म पनि जिर्णद्धार कार्य सम्पन्न भएको छैन ।
सम्पन्न त परको कुरा यस भवनको जिर्णद्धारको काम अहिलेसम्म केवल करिब ३० प्रतिशत जति मात्र सम्पन्न भएको छ । सिंहदरबार भवन भत्काएर पुननिर्माण गर्ने कि पुरातात्विक भएकाले यस भवनलाई नभत्काई जिर्णद्धार गरेर संरक्षण गर्ने भन्ने दुई विषयका कारण पुननिर्माण बारे निश्चित निर्णय लिन नै सरकारले ३ वर्ष ढिलाई गरेकाले सिंहदरबार भवन जिर्णद्धार कार्यमा ठिलाई भएको तर अब काम तिव्र हुने राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशिल ज्ञवालीको दावी छ ।
प्राधिकरणका प्रमुखले काम तिव्र गतिमा हुने बताई रहदाँ जिर्णद्धार गर्ने निर्णय भएको १ वर्ष पुग्दासम्म पनि ३० प्रतिशत मात्र काम सम्पन्न छ । भुकम्पले भत्किएको साढे २ वर्षसम्म अलपत्र सिंहदरबारलाई घाम पानीबाट जोगाउन त्रिपालले छोपियो । सिंहदरबारलाई सवलीकरण अर्थात रेक्ट्रोफिटिङ गरेर जस्ताको तस्तै राख्न प्रारम्भिक काम थालिएपनि पश्चिमपट्टीको मोहडामा खट बाध्ने काम अर्थात स्काफोल्डिङ सुरु गरेको १ वर्ष वित्न थाल्यो तर अझै खट बाँध्ने काम सकिएकोे छैन ।
दरबारको मुख्य र पुरानो भाग भूकम्पले भत्किएर चिरा परेकाले रेक्ट्रोफिटिङ गर्ने भनिएपनि कहिलेदेखि काम अगाडी बढ्छ प्राधिकरण आफै अनभिज्ञ छ । तत्काललाई रेक्ट्रोफिटिङ् गर्ने निर्णय भएको सिंहदरबारलाई पुननिर्माण गर्ने विषयमा त झनै प्राविधिक अध्ययन समेत गरेको छैन प्राधिकरणले ।
सिंहदरबारको कमजोर भाग र भित्र भएका कलाकृतिको अध्ययन नहुँदा कहिलेदेखि पुनर्निर्माण सुरु हुन्छ कुनै टुंगो छैन । सिंहदरबार क्षेत्रमा सिंहदरबार भवन मात्र होईन अन्य भवन संरचना र पर्खालहरुमा समेत २०७२ को भुकम्पले क्षति पु¥याएको छ तर ति संरचनाहरुलाई रिक्ट्रोफिट गरी प्रयोगमा ल्याईएको छ ।
विज्ञहरुका अनुसार सिंहदरबार पुननिर्माणमा ढिलाई हुनुका पछाडी प्राविधिक पाटो त छदै छ त्यो भन्दा पनि बलियो हात राजनीतिक शक्ति र स्वार्थको छ । प्रमुख प्रशासन क्षेत्र नै पुननिर्माण नहुँदा यसले समग्र पुननिर्माणको अवस्था कस्तो लथालिङग छ भन्ने संकेत गर्छ ।