Logo

म्यान्चेस्टर सिटी र लिभरपुलमा कसले मार्ला बाजी ?



काठमाडौं, १६ बैशाख । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि होड निकै रोचक बनेको छ । सिजनको दुई खेल मात्रै बाँकी छँदा शीर्ष स्थानको म्यान्चेस्टर सिटी र दोस्रो स्थानको लिभरपुलबीच १ अंकको दुरी छ ।

गएरातिको खेलमा बर्नलेमाथि संघर्षपूर्ण जित निकाल्दै म्यान्चेस्टर सिटी अंक तालिकाको शीर्ष स्थानमा फर्किएको हो । बर्नले विरुद्धको कठिन खेलमा सिटीलाई विजयी गराउन सर्जियो अगुएरोले निर्णायक गोल गरे ।

उता चेल्सीले प्रिमियर लिग फुटबलको शीर्ष चारमा रहने सम्भावना बलियो पारेको छ । गएराति भएको खेलमा म्यान्चेस्टर युनाईटेडसँग १–१ गोलको बराबरी खेल्दै चेल्सीले शीर्ष चारको पकड बलियो पारेको हो ।

खेलमा म्यान्चेस्टर युनाईटेडका हुँवा माटाले पहिलो गोल गरे पनि चेल्सीका मार्कस अलन्सोले बराबरी गोल गर्दै अंक बाँडेका हुन् । प्रिमियर लिगकै अर्को खेलमा लेष्टर सिटीले आर्सनललाई ३–० ले हराएको छ ।

गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ३६ खेलबाट ९२ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ । समान खेलबाट ९१ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ भने तेस्रो स्थानमो टोटनह्याम हट्सपरको ७० अंक छ । ६८ अंक जोडेको चेल्सी चौंथो स्थानमा रहँदा ६६ अंकसहित आर्सनल पाँचौ तथा ६५ अंक जोडेको म्यान्चेस्टर युनाईटेड छैटौं स्थानमा छ । एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्