काठमाडौं, १९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (बुधबार) राति २ बजेसम्म आफैं बसेर यो वर्षको नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएका छन् । प्रधानमन्त्री ओलीनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार यो वर्षको नीति तथा कार्यक्रम तयार पार्न ओली आफैं सक्रिय भएका थिए ।
सरकार गठन भएको झण्डै १५ महिना बित्न लागेको छ । यो बीचमा सरकारका कामकारबाहीका बारेमा जनस्तरबाट ठूलो आलोचना भैरहेको छ । त्यही भएर ओलीले यो वर्षको नीति तथा कार्यक्रममा निकै मेहनत गरेका छन् । ‘सम्मानीय प्रधानमन्त्री ओलीज्यू हिजो राति दुई बजेसम्म आफैं खट्नुभएको छ । सबै तयारी भएर नीति तथा कार्यक्रम छपाईमा पठाईएको छ ।’–बालुवाटार स्रोतले भन्यो ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्तुत नीति तथा कार्यक्रमका साथै आगामी आवको बजेटमा पनि छलफल हुनेछ ।