Logo

लिबियामा फसेका नेपालीलाई सेनाको क्याम्पमा ल्याउने तयारी



काठमाडौं २५ बैशाख ।  इजिप्टस्थित नेपाली दूतावासले द्वन्द्वग्रस्त लिबियामा फसेका २२ नेपालीलाई उद्धार गर्न शान्ति मिसनमा खटिएका नेपाली सेना र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) लाई अनुरोध गरेको छ । द्वन्द्वग्रस्त क्षेत्रमा लिबिया सरकारको प्रभावकारी उपस्थिति नहुँदा उनीहरूलाई उद्धार गर्न कठिनाइ भएको हो ।

संयुक्त राष्ट्रसंघका अनुसार राजधानी त्रिपोलीमा मानवीय अवस्था जोखिमपूर्ण बन्दै गएको छ। दूतावासले फसेका नेपालीलाई सुरक्षाका लागि नेपाली सेनाको क्याम्पमा ल्याएर राख्ने प्रयास भइरहेको जनाएको छ। लिबियाको अल साही समूह कम्पनीमा कार्यरत १५ जना र इटली छिर्न जान लागेका ९ जना नेपाली फसेका हुन्।

Citizen

‘त्यहाँ फसेका २२ जनासँग दूतावास नियमित सम्पर्कमा छ। उनीहरूका लागि गत बिहीबार नै ट्राभल डकुमेन्ट जारी भइसकेको छ,’ लिबिया मामिला हेर्ने कायरोस्थित नेपाली दूतावासका प्रवक्ता सुजन बिडारीले कान्तिपुरसित भने, ‘उनीहरूलाई सकुशल नेपाली सेनाको क्याम्पभित्र ल्याएर राख्ने प्रयास भइरहेको छ। त्यसका लागि लिबियामा रहेको नेपाली शान्ति सेनाको प्रमुखसँग समन्वय गरिरहेका छौं।’

रूपन्देहीका गणेश थापामगर, पूर्णबहादुर गुरुङ, बुद्धिबहादुर अधिकारी क्षत्री, लमजुङका अमृत गुरुङ, दाङका भुवन आचार्य, सुनसरीका राजु विष्ट, सनम विश्वकर्मा, गुप्तबहादुर विक, सिन्धुपाल्चोकका कृष्ण कोइराला, शेखर खरेल, जयराम धामी, अजयकुमार चौधरी, मनोहर कार्की र प्रकाश विश्वकर्मा अलसाही कम्पनीमा काम गर्न पुगेका थिए। उनीहरूलाई एजेन्टले भिजिट भिसामा अवैध ढंगले गत सेप्टेम्बर लिबिया पुर्‍याएको थियो। ‘उहाँहरू बढी जोखिममा परेको देखिन्छ। कम्पनीको बासस्थानबाट झिक्न नेपाली शान्ति सेनाले प्रयास गरिरहेको छ,’ बिडारीले भने। उनीहरूलाई पठाउने एजेन्ट दीपक श्रेष्ठ, श्याम श्रेष्ठ, केशव लम्साल, अमरबहादुर बगाले, राहुल विश्वकर्मा, तिलक केसी, लोकनाथ राई र शेखरनाथ पुडासैनी थिए।

बाँकी ९ जनालाई आईओएमको ‘डिटेन्सन सेन्टर’ (घरफिर्ती केन्द्र) भित्र राखिएको छ जसमा अनुश लामा, किरन खडका, सिराज रायमाझी, शुभप्रसाद पराजुली, रवि गुरुङ, प्रेमशील थारू र प्रेमलाल गौतम छन्।

लिबिया सरकारका निकायहरूसित सम्पर्क नभएपछि दूतावासले शान्ति सेना र आईओएमसँग समन्वय गरेको हो। ‘आन्तरिक रूपमा लिबिया द्वन्द्वमा फसेको छ। ८/९ वटा सशस्त्र मिलिसिया सक्रिय छन्। सबैले आआफ्ना आधार इलाका बनाइरहेका छन्। कब्जा गरिएको क्षेत्रलाई मुक्त गराउन राष्ट्रिय सेना अगाडि बढिरहेको छ,’ इजिप्टस्थित नेपाली राजदूत झविन्द्रा अर्यालले बताए।

स्पोन्सर सम्पर्कविहीन हुँदा फसेका नेपालीले ‘एक्जिट’ अनुमति पाएका छैनन्। ‘उनीहरूलाई निकाल्न निष्कासनको अनुमति चाहिन्छ। अनुमति दिने मालिक सम्पर्कविहीन छन्,’ बिडारीले भने, ‘उनीहरूको साथमा आफ्नो राहदानी पनि छैन। एकपटक स्वदेश फिर्न मिल्ने ट्राभल डकुमेन्ट बनाइदिएर आईओएममार्फत पठाइसकेका छौं।’

त्रिपोलीमै रहेका सैनामैना-१०, रूपन्देहीका गणेश थापामगरले आफूहरूको अवस्था नाजुक रहेको बताए। ‘हामी बसेको स्थानबाट झन्डै २५ किमि टाढा दिनहुँ विद्रोही र सरकार पक्षबीच भिडन्त भइरहेको छ। बम नपडकेको दिनै हुन्न,’ उनले फोनमा भने, ‘हामी निकै त्रस्त छौं।’

उनीहरू डरकै कारण राइसमिलको परिसरबाट बाहिर निस्किएका छैनन्। ‘हामी जहाँ काम गर्छौं, त्यहीँ बस्छौं,’ उनले भने, ‘यहाँबाट बाहिर घुमफिर गर्ने आँट छैन। हाम्रा लागि चाहिने सबै सामान लिबियन नागरिकले किनेर ल्याइदिन्छन्। सस्तो सामानलाई पनि महँगो पैसा तिर्नुपर्छ।’

अन्तर्राष्ट्रिय रेडक्रस समिति -आईसीआरसी) का अनुसार राजधानी त्रिपोलीभर मानवीय अवस्था खतरापूर्ण बन्दै गएको छ। ‘घना बस्ती भएका आवासीय क्षेत्र युद्ध मैदानमा परिणत भइरहेका छन्,’ आईसीआरसीले भनेको छ। संयुक्त राष्ट्रसंघका अनुसार लिबियाली द्वन्द्वमा झन्डै ३ हजार आप्रवासी फसेका छन्। कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्