Logo

अख्तियारकै तीन लाख रुपैयाँ गायब !



काठमाडौं २८ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘स्टिङ अपरेशन’का लागि दिएको घुस रकम नै गायब भएको रहस्य खुलेको छ ।

अख्तियारको बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले वैशाख २१ गते साँझ नेपालगञ्ज चारबाहिनीस्थित श्री लयर्स च्याम्बरमा छापा मार्न जानुपूर्व दिएको तीन लाख रुपैयाँ गायव भएपछि अहिले अख्तियारभित्र खैलाबैला मच्चिएको छ ।

त्यो दिन अख्तियारले उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका टाइपिस्ट सुब्बा कृष्णकुमार पाठकलाई तीन लाख घुसहित रंगेहात पक्राउ गरेको भनेर विज्ञप्ती जारी गरेको थियो । तर, घुस रकम भनिएको तीन लाख पाठकबाट बरामद नभएको रहस्य खुलेपछि अख्तियारका अधिकारीहरु तनाबमा छन् ।

मुद्दामा सहजीकरण गरिदिने भन्दै पाठकले सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले ‘स्टिङ अपरेशन’को योजना बनाएको थियो ।

अख्तियारले घुस रकम दिएर सेवाग्राहीलाई अघि पठाएर आफ्नो टोली पछिपछि पठाएको थियो । तर, अख्तियारको टोलीले पाठकलाई आफ्नो नियन्त्रणमा त लियो, त्यतिन्जेल घुस वापतको रकम भने गायब भइसकेको थियो ।

घुस रकम बुझाउँदा सँगै भएका पाठकका छोरा विपीनले रकम लिएर फरार भएको बताइएको छ । घुस रकम लिएर विपीन भारततिर लागेको आशङ्का गरिएको छ । उनको खोजी भइरहेको अख्तियार स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्