काठमाडौं, ३० बैशाख । इङ्गलिस प्रिमियर लिग फुटबलको उपाधि म्यान्चेष्टर सिटीले जितेको छ । सिजनको अन्तिम खेलमा ब्राइटनमाथि ४–१ को शानदार जित निकाल्दै म्यान्चेस्टर सिटीले प्रिमियर लिगको साविक उपाधि रक्षा गरेको हो ।
ब्राइटनको मैदानमा भएको खेलमा सिटीलाई विजयी गराउन सर्जियो अगुएरो, आयमेरिक लापोर्ते, रियाद माहारेज र इके गुन्डोगानले एक एक गोल गरे ।
जितसँगै सिटीले लिगका ३८ खेलबाट ९८ अंक बटुल्यो । ९७ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा समेटियो । अन्तिम खेलमा लिभरपुलले वुल्भरह्याम्टन वान्डरर्सलाई २–० ले हरायो ।
गएराती लेष्टर सिटीसँग गोलरहित बराबरी खेलेको चेल्सी लिगमा तेस्रो हुँदा एभर्टनसँग २–२ गोलको बराबरी खेलेको टोटनह्याम हट्सपर चौथो स्थानमा रह्यो ।
प्रिमियर लिगबाट यसपटक म्यान्चेस्टर सिटी, लिभरपुल, चेल्सी र टोटनह्याम हट्सपर अर्को सिजनको युएफा च्याम्पियन्स लिग फुटबलका लागि छनौट भए ।
आर्सनल पाँचौं स्थानमा रहँदा म्यान्चेस्टर युनाईटेड छैटौं स्थानमा समेटियो । यो सिजनको प्रिमियर लिगपछि हडर्सफिल्ड टाउन, फुल्हम र कार्डिफ सिटी प्रिमियर डिभिजनबाट रेलिगेशन हुँदै दोस्रो श्रेणीको फुटबल च्याम्पियनसिपमा झरेका छ्न् । एजेन्सीको सहयोगमा