काठमाडौं, २ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साईजमा ल्याउनको लागि ईश्वर कार्कीलाई अघि सारेका छन् ।
बुधबार काठमाडौंमा युवा संघको स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा उपप्रधान एवम् रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य पोखरेलले वैचारिक बहस छेडे । उनले पार्टीको मूल विचार नै जनताको बहुदलीय जनवाद रहेको बताएका थिए ।
तर, लगत्तै बोलेका अध्यक्ष प्रचण्डले अब पूरानो विचार बोकेर हिँड्न नहुने धारणा राखेका थिए । पोखरेल र प्रचण्डबीच सार्वजनिक कार्यक्रममै वैचारिक युद्ध चलेपछि धेरैले अब ओलीले आगामी महाधिवेशनमा अध्यक्षका प्रत्यासीका रुपमा पोखरेललाई नै अघि सार्न खोजेको अड्कलबाजी गरेका छन् ।
पोखरेल अध्यक्ष ओलीका विशेष मान्छे हुन् । उनले विगत लामो समयदेखि अध्यक्ष ओलीलाई साथ दिँदै आएका छन् । बेला बेलामा पोखरेलको अभिव्यक्तिले पार्टीभित्र तरंग पैदा गर्ने गरेको छ । हुनपनि ओलीले केही काम गर्नुपर्यो र रणनीति बुन्नुपर्यो भने पोखरेललाई नै अघि सार्ने गरेका छन् ।
प्रधानमन्त्री ओली विदेश भ्रमणमा रहेको बेला नेता पोखरेलले पार्टीको मुल विचार तय नभए तासको महल ढलेझैं पार्टी तहसनहस हुन बेर नलाग्ने भन्दै जबजलाई आत्मसात गर्नुको विकल्प नभएको बताएका थिए । पूर्व एमालेहरु जबजलाई नै मूल नीति बनाउनुपर्नेमा अडिक छन् ।
पार्टी एकताको भएको झण्डै एक वर्ष वितिसकेको छ । अर्को एक वर्षभित्र महाधिवेशन गर्ने नेकपाको तयारी छ । आगामी महाधिवेशनमा प्रचण्डले आफूलाई नेतृत्को लागि अघि सार्ने गृहकार्य गरिसकेका छन् । तर, पूर्व एमालेबाट अब ओली नै अध्यक्ष बन्ने मनस्थितिमा देखिएका छैनन् । त्यसैले ओलीले प्रचण्डसँग ईश्वर पोखरेललाई नै भिडाउने योजनासहित अघि सार्ने योजना बुनेका छन् ।