Logo

सार्वजनिक शिक्षा सुदृढीकरणका लागि ‘प्रतिध्वनि’



सार्वजनिक शिक्षा सुधारको लक्ष्य लिएर शिक्षाका लागि राष्ट्रिय अभियान एनसिइ नेपाल र सर्वनाम नाट्य समूहले आज ‘प्रतिध्वनि’ विषयक खबरदारी कार्यक्रमको आयोजना गरेको छ ।

शिक्षाका लागि विश्व कार्यसप्ताहअन्तर्गत आयोजित कार्यक्रममा नाटक, गीत, कविता र राजनीतिक नेताको प्रतिबद्धताका माध्यमबाट सामुदायिक शिक्षाको गुणस्तर सुधार्न र शिक्षामा व्यापारीकरण अन्त्य गर्न आह्वान गरिएको थियो । अशेष मल्लको निर्देशनमा करीब ३० मिनेटको नाटकमा शिक्षामा अझै विभेद रहेको, बजेट अपुग भएको र जनप्रतिनिधि तथा शिक्षकहरु जिम्मेवार नभएको औँल्याइएको थियो ।

कार्यक्रममा एउटा मात्र खुट्टा भएकी सीता सुवेदी र सुजाता वर्माले नृत्य, कवि प्रभा भट्टराई र बाबु त्रिपाठीले कविता, डा निरञ्जन भण्डारीले सङ्गीतका माध्यमबाट शिक्षाका सवाल उठाउनुभएको थियो ।

जनप्रतिनिधि, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षामा कार्यरत संस्था, शिक्षाविद्, शिक्षाका कर्मचारी, दातृ निकाय, उद्यमी, व्यापारिक क्षेत्र र सामाजिक संस्थाका प्रतिनिधि सहभागी कार्यक्रममा तीनवटै तहका सरकारलाई शिक्षामा बजेट बढाइ चुस्त व्यवस्थापनमार्फत गुणस्तर सुधार्न ध्यानाकर्षण गरिएको थियो ।

संविधानमा निःशुल्क शिक्षाको प्रबन्ध भए पनि त्यसको सही कार्यान्वयन हुन नसकेको अवस्थामा सरकारका नेतृत्व र नीति निर्माताले नयाँ ढङ्गले सोच्न ती रचनात्मक प्रस्तुतिले दबाब दिएका थिए ।

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला, समाजवादी पार्टी नेपालका उपमहासचिव डम्बर खतिवडा, शिक्षाविद् केदारभक्त माथेमा, शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्साललगायतबाट सामुदायिक विद्यालयको सुधारबाट मात्रै समृद्धि सम्भव हुनेमा जोड दिनुभयो । साथै शिक्षकहरुलाई राजनीतिक दलको कार्याकर्ताका रुपमा कायम नराख्न र शिक्षित बेरोजगारीको अवस्था अन्त्य गर्न पनि उहाँहरुले सुझाउनुभयो ।

एनसिइ नेपालका अध्यक्ष कुमार भट्टराईले सरकार र नागरिक समाजले चाहेमा निःशुल्क शिक्षा सम्भव रहेको बताउनुभयो । एनसिइ नेपाल शिक्षामा कार्यरत करीब ३०० सामाजिक संस्थाहरुको साझा सञ्जाल हो ।रासस



प्रतिक्रिया दिनुहोस्