काठमाडौं ७ जेठ । गणतन्त्रपछि पूर्वराजाको सम्पत्ति राष्ट्रियकरण भयो । तर, यसको चरम दुरुपयोग बढेको छ । सरकारले व्यक्तिलाभका लागि कानुनैसमेत फेरिदिन थालेको छ । पूर्वराजा वीरेन्द्र र उनको परिवारका नाममा देशभर २१ हजार ५ सय ६३ रोपनी जमिन भेटिएको छ । नेपाल ट्रस्ट अन्तर्गत ल्याए पनि सरकारले सदुपयोग गर्न सकेको छैन । दुरुपयोग रोक्न लागिपरेको पनि छैन ।
राजधानीको मुटु मानिने छाउनीको १५ रोपनी एक आना जग्गा नेपाल ट्रस्टको हुने सर्वोच्च अदालतले अन्तिम फैसला ग¥यो । त्यसलाई अटेर गरी पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहले कब्जा जमाएकी छन् । प्रेरणाले यो जग्गा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफूलाई दाइजोबापत दिएको जिकिर गरेकी छन् ।
‘विजया घर’ बाट चिनिने यो घरजग्गा खाली गराउन ट्रस्टले ५ महिनाअघि नै पत्राचार ग¥यो । काठमाडौं महानगरपालिकाले पनि यो घरजग्गा खाली गर्न पत्र लेखेको छ । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीश दीपककुमार कार्की र सपना मल्ल प्रधानको पूर्णइजलासले एक वर्षअघि यो सम्पत्ति नेपाल ट्रस्टकै नाममा फिर्ता गर्नुपर्ने फैसला गरेको थियो ।
दरबार हत्याकाण्डपछि पूर्वराजा वीरेन्द्रको नाममा रहेको यो जग्गा ज्ञानेन्द्रले नामसारी गरी छोरी प्रेरणाको नाममा पास गरिदिएका थिए । यस्तै चन्द्रागिरी नगरपालिकाको सतुगंल, मातातीर्थ र थानकोटको राजाको ‘फर्माएसी बिर्ता’ १७० रोपनी ट्रस्टको जग्गा मोहीलाई नामसारी गरिएको छ ।
बाबुराम भट्टराई प्रधानमन्त्री रहेका बेला यो जग्गा ट्रस्टको मापदण्डविपरीत मोहीलाई दिने निर्णय भएको थियो । ट्रस्टको नाम आइसकेको जग्गाको हक हस्तान्तरण हुन सक्दैन । तर नियम विपरीत नीतिगत भ्रष्टाचार गरी मोहीलाई दिने निर्णय त्यसबखत भएको थियो । यस सम्बन्धमा पुनःअनुसन्धान थालिएको छ ।
नेपाल ट्रस्टको कार्यालयका सूचना अधिकारी अमृत महर्जनले ‘फर्मायसी बिर्ता’ को जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान भइरहेको बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई यस सम्बन्ध ट्रस्टले जानकारी गराइसकेको उनले बताए । मालपोत कार्यालय कलंकीले यसबारे अध्ययन गरिरहेको छ । भक्तपुर नगरपालिकाले सल्लाघारीको १०८ रोपनी जग्गा पर्खाल लगाएको छ ।
ट्रस्टको अनुमतिबेगर नगरपालिकाले यो जग्गा घेरेको हो । ट्रस्ट जग्गामा नगरपालिकाले पर्खाल लगाएर अतिक्रमण गर्नु गलत भएको ट्रस्टका पूर्वसचिव भीमप्रसाद उपाध्यय बताउँछन् ।
ट्रस्टको अध्यक्ष गृहमन्त्री हुन्छन् भने संरक्षक प्रधानमन्त्री । उपाध्यक्ष मुख्यसचिव र सदस्यसचिव ट्रस्टका सचिव हुने व्यवस्था छ । नगरपालिकाले ट्रस्टको जग्गामा पर्खाल लगाउँदा रोक्न नसक्नु अध्यक्ष गृहमन्त्री, उपाध्यक्ष मुख्यसचिवसम्म दोषी हुने उनको ठम्याइ छ । ‘नगरपालिकाले स्रोतको दुरुपयोग ग¥यो, बलजफ्ती ट्रस्टको जग्गामा पर्खाल लगायो, अन्य ठाउँमा लगानी गर्न सकिने बजेट यतातिर खर्च ग¥यो’, उनले भने, ‘यो नीतिगत भ्रष्टाचार हो, रोक्न नसक्ने गृहमन्त्री, मुख्यसचिव दोषी हुन् ।’ उनले माफियासँग मिलेर सरकारले ट्रस्टको सम्पत्ति लुटिरहेको बताए ।
‘स्थानीय सरकारले अर्काको नामको जग्गा खाइदिन पाउँछ ? ’ पूर्वसचिव उपाध्ययले भने, ‘सरकारले त कानुनको रक्षा गर्ने हो, आफंै माफियाजस्तै काम गर्ने होइन । सरकार नै अतिक्रमण गर्दै हिँड्न मिल्छ ? ’
सम्पत्ति अथाहा
देशभर पूर्वराजपरिवारको सम्पत्ति अथाह छ । तर, त्यसको सदुपयोग छैन । पूर्वराजपरिवारका चल÷अचल सम्पत्तिको समुचित व्यवस्थापन र आयआर्जन गर्न नेपाल ट्रस्ट स्थापना गरियो । त्यसको मुख्य उद्देश्य राजपरिवारको सम्पत्ति खोजबीन, संरक्षण तथा व्यवस्थापनका साथै यो सम्पत्ति शिक्षा÷स्वास्थ्य क्षेत्रमा उपयोग गर्ने हो । मुलुकमा गणतन्त्र आएसँगै पूर्वराजपरिवारको जग्गा खोजबीन त गरिएको छ तर यसको संरक्षण तथा व्यवस्थापन हुन सकेको छैन । न त उद्देश्यअनुसार शिक्षा÷स्वास्थ्यमा पूर्वराजपरिवार सम्पत्तिको उपयोग भएको छ । पूर्वराजा वीरेन्द्रकै पालामा केही व्यावसायिक प्रतिस्ठानलाई लिज र भाडामा दिइएको थियो ।
राजा वीरेन्द्रकै पालामा (सन् १९९५) गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्ट सञ्चालनका लागि एलएम सुवीर ब्रदर्श प्रालि र यति होल्डिङस प्रालिाई २ हजार ९७१ रोपनी ६ आना जग्गा ३० वर्षका लागि लिजमा दिएको थियो । कमलादीस्थित काठमाडौं प्लाजाको भवन, लाजिम्पाटस्थित स्ट्याण्डर्ड चार्टड बंैक नेपाल लिमिटेडको भवन, टेकुस्थित विजनेश पार्क लिजमा दिइएको छ भने सोल्टी आउटर कम्प्लेक्स कालीमाटी, सार्वजनिक खरिद तथा अनुगमन कार्यालय रेडक्रसमार्ग, गरिबी निवारण कोष, काठमाडौं उपत्यका खानेपानी लिमिटेड कमलादी, निजामती आवासीय विद्यालय चुलीवन धनकुटा, भाडामा दिएको छ । ताहचालस्थित सोल्टी मोडको ४ रोपनी ४ आना ३ पैसा ३ दाम जग्गा पनि लिजमा दिन प्रक्रिया थालिएको छ । अन्नपूर्णपोष्टबाट