Logo

लोकसभा निर्वाचनमा मत सर्वेक्षणको हंगामा, अनुमान मिल्ला कि नमिल्ला ?



वैशाख ७, काठमाण्डौ । भारतमा १७ औं लोकसभा चुनावअन्तर्गत आइतबार सातौं अर्थात अन्तिम चरणको मतदान सकिएको छ । अहिले चुनावको मत गणनाको व्यग्र प्रतिक्षा भइरहेको छ ।

मतदान पूरा भएलगत्तै सार्वजनिक भएका आधा दर्जन मत सर्वेक्षण (एग्जिट पोल) का नतिजाले भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) कै सत्ता निरन्तर रहने प्रक्षेपण गरेको छ ।

सर्वेक्षणहरुको नतिजालाई आधार मान्ने हो भने नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चित देखिन्छ । ५ सय ४३ सदस्यीय तल्लो सदन लोकसभामा बहुमतका लागि २ सय ७२ सिट भए पुग्छ ।

सर्वेक्षणमा सत्तारूढ भारतीय जनता पार्टीको राष्ट्रिय प्रजातन्त्रिक गठबन्धनले स्पष्ट बहुमत ल्याउने देखाएका छन् । भाजपा सम्मिलित गठबन्धनले ५४२ मध्ये ३०० भन्दा बढी सिट जित्नेछ जुन सरकार बनाउन चाहिने २७२ भन्दा बढी हो । यी मत सर्वेक्षणलाई आधार मान्दा मोदी अझै पाँच वर्ष नयाँदिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्री निवासमा रहेनछन् ।

अहिलेका मत सर्वेक्षणले बहुमत एनडिएको आए पनि भाजपाको सिट घट्ने र कंग्रेसको सिट बढ्ने देखाएका छन् । तर भाजपासहितको एनडिएले कति सिट पाउला भन्नेमा उनीहरूका तथ्यांक फरक–फरक छन् । निल्सनले २७७, सी भोटर्सले २८७, जनकी बातले ३०५, भिएमआरले ३०६, इप्सोसले ३३६, चाणक्यले ३५० र एक्सिसले ३५४ सिट एनडिएले ल्याउने सम्भावना देखाएका छन् । यी सबैले कंग्रेस आईसहितको युपिएको सिट भने पाँचवर्ष अघिभन्दा डेढदेखि दुई गुणा बढ्ने संकेत गरेका छन् । फरक–फरक सर्वेक्षणले उसले ९२ देखि १३२ सिट हात पार्ने देखाएका छन् ।

तर मे २३ मा आउने चुनावी परिणाम यी मत सर्वेक्षणका नतिजाजस्तै होला भन्नेमा धेरैलाई शंका छ । अहिले प्रतिपक्षमा रहेको भारतीय कंग्रेसका नेताहरूले वास्तविक चुनावी परिणामले अहिलेका मत सर्वेक्षणलाई गलत सावित गर्ने दावी गरेका छन् ।

अहिले धेरैलाई ४० लोकसभा सिट रहेको बिहारको नतिजामा चासो छ ।

किनभने बिहारको बेगुसराय क्षेत्रमा जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)का विद्यार्थी नेता कन्हैया कुमार भारतीय कम्युनिष्ट पार्टीका उम्मेदवार छन् । उनीसँगै भाजपाका गिरिराज सिंह र राष्ट्रिय जनता दल (राजद)का तनवीर हसन पनि उम्मेदवार छन् ।
बिहारको राजनीतिक समीकरण यसपटक विगतकोभन्दा धेरै बदलिएको छ । भाजपा, जनता दल युनाइटेड (जदयु) र लोक जनशक्ति पार्टी (एलजेपी)ले चुनावी गठबन्धन गरेका छन् ।

अर्कोतर्फ कांग्रेस, राष्ट्रिय जनता दल (आरजेडी), राष्ट्रिय लोक समता पार्टी (रालोसपा), विकासशील इन्सान पार्टी (विआइपी) र हम पार्टीको गठबन्धन छ । यसलाई ‘महागठबन्धन’ भनिएको छ ।

बेगुसरायको मत सर्वेक्षणका नतिजालाई विश्वास गर्ने हो भने कन्हैया कुमारका लागि चुनावी नतिजा सुखद छैन । उनी तेस्रो नम्बरमा रहने आकलन गरिएको छ । र, यसपटक कट्टर हिन्दुवादी नेता गिरिराज सिंहले नै बाजी मार्ने अनुमान गरिएको छ ।

मत सर्वेक्षणका अनुसार बिहारका ४० मध्ये सत्तारुढ गठबन्धनले ३२ सिटसम्म जित्न सक्ने छ । यसमा भाजपाको १५, जदयुको १३ र एलजेपीको ४ सिट सामेल छन् । यसैगरी महागठबन्धनको कुरा गर्ने हो भने राहुल गान्धी नेतृत्वको कांग्रेस पार्टीले जम्मा २, आरजेडीले ५ र राष्ट्रिय लोक समता पार्टीले १ सिट जित्ने अनुमान गरिएको छ ।

मोदीको कट्टर आलोचक मानिने कन्हैया कुमार उम्मेदवार बनेपछि बेगुसरायको चुनावी प्रतिस्पर्धा रोचक बनेका छ । बेगुसराय क्षेत्रमा साढे तीन लाखभन्दा बढी भूमिहार मतदाता छन् । गिरिराज र कन्हैया कुमार पनि यही समुदायका उम्मेदवार हुन् ।

विगतको स्मरण :
सन् २०१४ को चुनावको कुरा गर्ने हो भने भारतीय जनता पार्टीका भोला सिंहले ४ लाख २८ हजार २२७ मतका साथ यहाँबाट चुनाव जितेका थिए । उनका निकटतम प्रतिस्पर्धी राजदका तनवीर हसनले ३ लाख ६९ हजार ८९२ भोट पाएका थिए ।

भारतीय कङ्ग्रेस पार्टीका वरिष्ठ नेता शशी थरुरले चुनावी मतसर्वेक्षणका प्रक्षेपणहरु गलत रहेको भन्दै त्यसलाई अस्वीकार गरेका छन् । उनले आगामी बिहीबार सार्वजनिक हुने मतगणनालाई मात्र विश्वास गर्न सकिने बताए ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले पनि चुनावी मतसर्वेक्षणले आम मानिसको भावनालाई समेट्न नसकेको बताएका छन् ।

टेलिभिजन च्यानलमा प्रसारित सबैजसो चुनावी मतसर्वेक्षणले भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले नै केन्द्रमा सरकार बनाउने आँकलन गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले नै आगामी सरकारको नेतृत्व गर्ने सर्वेक्षणमा देखाइएको छ ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले त मतगणनामा धाँधली गर्न मत सर्वेक्षणको नतिजालाई आधार बनाइने आरोप लगाएकी छन्।

२ दिनअघि अष्ट्रेलियामा यस्तै भयो । झन्डै पाँच दर्जन मत सर्वेक्षणले सत्तारूढ उदारवादी राष्ट्रिय गठबन्धन पराजित हुने र प्रतिपक्षी लेवर पार्टीले झिनो बहुमत ल्याउने देखाएका थिए। तर परिणाम यस्तो आयो कि प्रधानमन्त्री स्कट मोरिसनलाई नै आफ्नो जित ‘चमत्कार’ लागेको छ ।

१५ वर्षअघि भारत पनि कंग्रेस आईका लागि यस्तै चमत्कार भएको थियो र मत सर्वेक्षण गलत सावित भएका थिए । त्यतिबेला एनडिए गठबन्धनबाट अटलबिहारी वाजपेयी प्रधानमन्त्री थिए । सन् १९९९को चुनावमा भाजपाले १८२ सिट पाएको थियो। मत सर्वेक्षणले फेरि पनि ‘इन्डिया साइनिङ’ को नारा घन्काएको एनडिएकै बहुमत आउने देखाए । तर वास्तविक परिणाममा कंग्रेस आईले पहिलाभन्दा ३१ सिट बढायो, भाजपाको ४४ सिट घट्यो । कंग्रेसको युपिए गठबन्धनबाट मनमोहनसिंह प्रधानमन्त्री बने । उनले दुई कार्यकाल भारतको नेतृत्व गरे ।

चुनावमा मतदानको समय सकिएर चुनावी परिणाम नआउञ्जेलका उत्सुकता मेटाउन मत सर्वेक्षण गरिन्छ । चुनावपछि हुने यस्ता सर्वेक्षणका लागि मतदान केन्द्रमा गएर भोट हालेका मानिससँग कुरा गरिन्छ । यसरी ल्याएको डाटा विश्लेषण गरेर सम्भावित नतिजा यस्तो हुनसक्छ भन्ने निष्कर्ष निकालिन्छ । राम्ररी गरिएका यस्ता सर्वेक्षणले परिणामको संकेत गर्न सक्छन् तर सधैँ ठ्याक्कै मिल्छन् भन्ने छैन ।



प्रतिक्रिया दिनुहोस्