वैशाख ७, काठमाण्डौ । सोमबार राती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा विभत्स तरिकाले दुई परिवारको ९ जनाको सामूहिक हत्या भएको घटनाले समग्र देश नै शोकमा छ । अनि त्रासमा पनि ।
आक्रमणमा १२ वर्षीया किशोरी सीता खुजुमले भने भागेर ज्यान जोगाउन सफल भइन् । मुकुन्डो लगाएर आएको व्यक्तिले हत्या गरेको सीताको बयान दिइन् । घटनाक्रम अघि बढ्दै जाँदा एक व्यक्ति झुण्डएर मरेको अवस्थामा फेला परे ।
मध्यराति ससुरा बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्मा परिवारका ९ जनाको विभत्स हत्या गरेको हो ।
हत्या गरिएकामा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।
त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ । शेर्मा र फियाक परिवारको घरको दुरी करिब डेढ–दुई किलोमिटर टाढा छ ।
सोही गाउँपालिका वडा नम्बर ७ मा एक युवक झुण्डिएको अवस्थामा भेटियो । झुण्डिएर आत्महत्या गर्ने व्यक्ति मानबहादुर माखिम रहेछन् । मानबहादुर हत्या गरिएका ७४ वर्षीय बमबहादुर फियाकका कान्छा ज्वाइँ हुन् ।
पारिवारिक सम्बन्धका व्यक्ति भएपछि उनैले हत्या गरेर आत्महत्या गरेका हुन् कि भन्ने आशंका बढ्यो । यसैबीच उनले आत्महत्या गरेकै स्थान नजिक रगत लतपतिएको धारिलो हतियार पनि भेटिएपछि मानबहादुरले नै ९ जनाको हत्या गरेको हो कि भन्ने आशंकामा बल पुग्यो । माखिमले लगाएको कपडा पनि रगतले लतपतिएको छ ।
अनुसन्धानका क्रममा झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर धनराज शेर्माका साढुभाइ र बमबहादुर फियाकका ज्वाइँ पर्ने व्यक्ति हुन् । प्रहरीका अनुसार मानबहादुरको श्रीमतीसँगको सम्बन्ध बिग्रिएको थियो । पछिल्लो समय सम्बन्धबिच्छेदको प्रक्रियासमेत सुरु भएको बताइन्छ ।
बमबहादुरकी श्रीमती माइतीमा बस्दै आएकी थिइन् । मानबहादुरले बमबहादुर र धनराजकै परिवारले श्रीमतीलाई डिभोर्स दिन उचालेको आरोप लगाउँदै आएका थिए । यही रिसमा विभत्स हत्या गरेको हुन सक्ने आशंका पनि गरिएको छ ।
९ जनाको हत्या हुँदा भागेर बाच्न सफल १२ वर्षीया बालिका सीता खजुमको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनको झापाको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।
सोमबार राति मिक्लाजुङ ३ आरुबोटेमा अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी दुई परिवारका ९ जनाको हत्या गरेका थिए । घटनास्थलबाट भागेर बाँच्न सफल खजुमको दायाँ हातमा चोट लागेको छ । बालिकाको हातको कुइनोमा चार टाँचा लगाइएको छ । कडा सुरक्षाबीच बालिकाको उपचार भइरहेको छ ।
यसैबी मृत्यु भएकाहरुको पोष्ट मार्टमका लागि शव धरानस्थित विपी कोइरालाई मेमोरियल अस्पताल ल्याउने तयारी भइरहेको छ । तर मृतकमध्ये ५ जनाको मात्रै सनाखत भएको बताइएको छ ।