Logo

बन्दिपुर गाउँपालिकामा नेकपाको भाँडभैलो, वडा तहको एकता अन्यौलमा



जेठ ९, तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिकाको नव गठित नेकपाको समितिमा असन्तुष्टी थप चुलिएको छ ।

७५ सदस्यीय समितिमा योग्यता, क्षमता र योगदानका आधार नभै नातावाद, कृपावादका आधारमा सदस्य छानिएपछि विवाद चुलिएको हो । गत ७ गते गाउँपालिका समितिको सपथ ग्रहण गराइएको थियो ।

तर ७५ जनामध्ये ३२ जनाले मात्र सपथ लिएपछि असन्तुष्टी सतहमा आएको थियो ।

विद्या लामिछानेको नेतृत्वमा गठित समितिमा असन्तुष्टी चुलिएको हो ।

नयाँ समितिमा पूर्व एमाले पक्षधरको असन्तुष्टी धेरै देखिएको छ भने पूर्व माओवादीका पनि करिब १५ जनाले सपथ बहिष्कार गरेका थिए ।

गाउँपालिका समितिमा देखिएको असन्तुष्टी वडा तहमा पनि पुगेको छ । भोलीदेखि वडाको समितिलाई सपथ खुवाउने कार्यक्रम थियो । तर उक्त कार्यक्रम अन्योलमा रहेको पूर्व माओवादीको तनहुँ जिल्लाका सचिवालय सदस्य सुदिप पोख्रेलले बताए ।

असन्तुष्टीको समाधान गर्ने विषयमा छलफल गर्ने भनिए पनि गम्भीर छलफल हुनै सकेको छैन ।

भोलीदेखि बन्दिपुर गाउँपालिका वडा १ देखि सुरु हुने भनिएको सपथ अनिश्चित भएको हो । अरु वडामा पनि यस्तै अनिश्चित भएपछि समग्र गाउँपालिका नै नेतृत्वविहिन हुने अवस्था आउने देखिएको छ ।

असन्तुष्ट पक्षको मागलाई अहिलेसम्म कुनै छलफल भएको छैन । छलफल गर्ने भनिए पनि विषयवस्तु र एजेण्डा नै तय हुन सकेन ।

समाधानका लागि कसैले पनि चासो नदिएको सुदिप पोख्रेलले बताए । अहिलेको नेतृत्वमा वामपन्थी विचार नै नबुझेको भएकाले समस्या बढेको पोख्रेल बताउँछन् ।
नेकपाका तनहुँका प्रभावशाली नेता इन्द्रबहादुर कुँवरले समस्या समाधान गर्नुपर्छ भनेर चासो दिइरहेका छन् । शिक्षाविद्समेत रहेका कुँवरले असन्तुष्ट पक्षको गुनासोलाई स्थान दिनुपर्ने बताएको कुँवरलाई उदृत गर्दै पोख्रेलले बताए ।

तर सबै पक्ष छलफलका लागि तयार भएका छैनन् ।

पूर्व एमालेका गाउँपालिका इन्चार्ज सुरेन्द्र थापा पक्षधर असन्तुष्ट देखिएका छन् । एकता हुनुअघि माओवादीबाट एमालेमा प्रवेश गरेका जीवन कायस्थलाई सचिव बनाएपछि थापा पक्षधर असन्तुष्ट बन्दा समस्या बढेको हो ।

गाउँपालिकाको समिति विवादरहित रुपमा टुङ्गो नलगाएसम्म वडाको समिति गठन हुन नसक्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्