Logo

‘अबको प्रधानमन्त्री मै हुँ, ओलीले प्रधानमन्त्री छाड्नु हुन्न भन्ने कल्पना गर्न चाहन्नँ’



काठमाडौं, १६ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साढे दुई वर्षपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पद नछाड्ने कल्पना नै नगर्ने स्पष्ट पारेका छन् ।

उनले विगतमा भएको सहमतिअनुसार अगाडि बढ्ने स्पष्ट पारेका छन्। बुधबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डले सहमतिविपरित कुरा गर्न थालियो भने चिज अर्को ढंगले जाने भन्दै प्रधानमन्त्री ओलीले सहमति नतोड्ने विश्वास दिलाए । उनले भनेका छन्,‘जे हुन्छ सहमतिबाट हुनुपर्छ भन्ने हाम्रो छ। पार्टीले डिसिजन गर्ने कुरा हो। त्यस्तो कुराको अहिले म कल्पना गर्न चाहदिनँ। मैले प्रधानमन्त्रीजीलाई दुस्ख, सुख अप्ठ्यारोमा रक्षा गर्न मेरो ठाउँबाट बल गरिराखेकै छु। तपाईंहरूले देखिराख्नुभएकै छ। मैले सरकारको पक्षमा प्रधानमन्त्रीको पक्षमा जनताको बीचमा पब्लिक कार्यक्रममा पनि, सरकारले गरेका राम्रा कार्यक्रममा पनि के(के हुन् भनेर भनिराखेको छु। त्यसैले म अहिले तपाईंको यो प्रश्नमा जान चाहन्नँ। त्यसो गर्नु अहिले वास्तवमा उचित हुन्न। हामी सहज ढंगले कुराकानी गरिराखेका छौं। एकतादेखि अहिलेसम्म कहीँ हाम्रा कमीकमजोरी छन् भने समीक्षा गर्ने र सच्याउने तर्फ बल गर्नुपर्छ भन्नेतर्फ गैराखेका छौं। त्यसकारण भोलि (साढे दुई वर्षमा) छाड्नुहुन्न (प्रधानमन्त्री) भन्ने म कल्पना गर्न चाहन्नँ। यो विषय जे हामीले समझदारी गरेका छौं। त्यो समझदारी अनुसार जान्छ भन्ने विश्वासका साथ काम गर्ने भन्ने छ मेरो। यसरी नै बुझ्नुहोला। योभन्दा बढी यसमा नसोध्दा ठीक हुन्छ।’

फरक प्रसंगमा उनले आफू र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अत्यन्तै घनिष्ठ सम्बन्ध रहेको पनि सुनाए । मोदीसँगमात्रै नभएर चिनियाँ राष्ट्रपति सि जिनपिङबीच पनि असाध्यै राम्रो सम्बन्ध रहेको कुरा आफूले भारतमा मोदी र जिनपिङलाई एकैपटक भेट्दा थाहा पाएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्