काठमाडौ, १६ जेठ । महालक्ष्मी नगरपालिका वडा नम्बर ८ को योजना छनोटका लागि सुझाव संकलन भएको छ । वडाका बासिन्दाको उल्लेख्य उपस्थितिमा सडक, खानेपानी, स्वास्थ्य, वातावरण र सीपमूलक कार्यक्रममा योजना बनाउन सझुाव संकलन भएको छ ।
नगरपालिकाका वडाध्यक्ष विश्वराज श्रेष्ठसहित वडा सदस्यहरु अनिल श्रेष्ठ, अम्बिका श्रेष्ठ, आशिष केसी र मिजार सहभागी भई सुझाव संकलन गरेका थिए । त्यस क्रममा वडाको बजेट समानुपातिक तरिकाले बाँडफाँड नभएको आवाज उठेको थियो ।
नेपाली काँग्रेसका युवा नेता विवेककुमार कार्कीले योजना संकलन गर्नुभन्दा अगाडि समानुपातिक र न्यायोचित् बाँडफाँडको सुनिश्चितता गर्नुपर्ने आवाज उठाएका थिए । उनले भने,‘बजेट दिंदा प्राथमिकता, भूगोल र जनसंख्यालाई समेत ध्यान दिइयोस् ।’
जनप्रतिनिधिहरु योजना ल्याउन जति सक्रिय हुनुपर्ने त्यस अनुरुप नभएकोमा आवाज उठेको थियो । वडाध्यक्ष विश्वराज श्रेष्ठले सबैको जायज माग र सुझावलाई मनन गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । विगत वर्षमा भएका योजना छनोट र कामबारे समेत जानकारी गराएका थिए । कार्यक्रममा वडाका सचिव हिमाल बस्नेत समेत सहभागी थिए ।