जेठ १८, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको १५ महिनापछि केपी शर्मा ओलीले आफूलाई सत्ता हस्तान्तरण गर्ने विश्वास व्यक्त गरेपछि एकपटक फेरी नेपालको राजनीतिमा तरङ्ग पैदा भएको छ ।
प्राइम टाइम्स टेलिभिजनको लोकप्रिय कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै प्रचण्डले पार्टी एकता हुँदाखेरि नै आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भएको उल्लेख गर्दै उक्त सहमति प्रधानमन्त्री केपी ओलीले पालना गर्ने विश्वास व्यक्त गरे ।
प्रचण्डको यो भनाईले ओली पनि अप्ठ्यारोमा परेका छन् । अझ प्रचण्डले पार्टी एकता हुँदाखेरि गरिएको सहमतिबाट कसैले दायाँ वायाँ गर्न खोजेमा या धेरै घमण्ड गरेमा कोही पनि नटिक्ने चेतावनी दिएपछि ओलीको मनमा चस्का पसेको छ ।
प्रचण्डले शर्तको रुपमा पार्टी अध्यक्षको जिम्मेवारी आफूले पाएको खण्डमा ओलीलाई पाँच वर्ष नै प्रधानमन्त्री मान्न सकिने बताएका छन् ।
यसले के स्पष्ट हुन्छ भने प्रचण्ड प्रधानमन्त्री वा पार्टीको एक्लो अध्यक्ष बन्न चाहन्छन् । तर ओली यो दुवै हुन दिन चाहदैनन् । पार्टी एकता प्रक्रिया टुङ्गिन नसकेको अवस्थामा प्रचण्डको अन्तरवार्ता र त्यहाँ व्यक्त गरिएका भनाईले धरै अर्थ राख्दछ ।
प्रचण्डको अन्तरवार्तापछि ओली झस्किने मात्रै होइन चिन्तित पनि देखिएका छन् ।
प्रचण्डको अन्तवरार्तापछि ओलीको अन्तरवार्ता लिएका धमलाले ओलीलाई प्रश्न गरेका थिए–तपाईलाई जनताले पाँच वर्षको लागि म्याण्डेट दिएको हो नि, तपाईले बिचमै छोड्ने सहमति भएको हो र ?
ओलीको जवाफ यस्तो छ–यसमा म अहिले छलफल गर्न चाहन्न । यो सहमति के कस्तो भएको हो ? भन्ने कुरा सहमतिमै उल्लेख छँदैछ । र, अभिप्राय के हो ? भन्ने कुरा पनि उल्लेख छ । यतिवेला यो चर्चा गर्ने, मैले आज विहानपनि एउटा सञ्चारमाध्यमलाई भनें तपाईहरुलाई खुशी लाग्छ भने म चार पाँच दिनमात्रै हो, चार पाँच दिनपछि हटिहाल्छु भन्दिन्छु । देशको विकासप्रति चिन्ता नहुने, त्यसतर्फ बहस नगर्ने, विकास कसरी हुन सक्छ ? स्थिरता र स्थायित्व कसरी हुन सक्छ ? त्यतापट्टि नहुने । मलाई आश्चर्य लाग्छ । हरेक कुराको विरोध हुनुपर्ने । नराम्रो भन्नुपर्ने । यस देशलाई माया गर्ने र देशलाई राम्रो होस भन्ने कुरा खोई ? कतिपय मान्छेहरुको प्रवृत्ति म देखिरेको छु, त्यसमा मेरो खास टिप्पणी केही पनि छैन् ।
धमलाले ओलीलाई प्रचण्डसँगको सम्बन्धको बारेमा प्रश्न गर्दा एकता खलबल्याउने तत्वहरु सक्रिय भएको आरोप लगाए । उनले भने– केही सहमतिहरु भएर नै एकता भएको हो । र, एकता भएपछि एकताबद्ध रुपमा पार्टी अघि बढेको छ । त्यसलाई कमजोर पार्नेगरि, एकता खलबलाउनेगरि केही चर्चा गर्नुपर्ने त आवश्यकत्ता छैन् । जे सहमति भएका छन् । ती सबै आफ्नो बाटोमा र कोर्समा अघि बढ्छन् ।
धमलाले गणतन्त्र दिवसको अवसरमा प्रचण्डसँग उनकै निवासमा पुगेर अन्तरवार्ता लिएका थिए भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा पुगेको ओली फर्कने क्रममा हवाइजहाजभित्रै अन्तरवार्ता लिएका थिए ।
तत्कालीन एमाले र माओवादीवीच पार्टी एकता घोषणा हुनुभन्दा एक दिनअघि ०७५ साल जेठ २ गते प्रचण्ड र केपी ओलीवीच गोप्य सम्झौता भएको थियो, जसको चौथो बुँदामा आलो–पालो सरकारको नेतृत्व गर्ने भनिएको थियो ।
समानताका आधारमा सरकारको नेतृत्व आलोपालो गर्ने भनिएकोमा केपी शर्मा ओलीले १५ महिना सरकारको नेतृत्व गरिसकेका छन् । अब उनको अढाइ वर्षे कार्यकाल पूरा हुन १५ महिना बाँकी छ ।
यसवीचमा सरकारले राम्रो काम ग¥यो र पार्टी सन्तुष्ट भयो भने ओलीलाई ५ वर्ष नै सरकार चलाउन दिने प्रचण्डले बताएका छन् । तर, ओलीलाई ५ वर्ष प्रधानमन्त्री बन्न दिनका लागि पार्टी सञ्चालनको जिम्मा आफूले पाउनुपर्ने प्रचण्डको माग छ ।