जेठ १८, काठमाण्डौ । स्पेनको मड्रिडमा शनिबार राति पौने १ बजे च्याम्पियन्स लिग फाइनलमा दुई इंग्लिस क्लब लिभरपुल र टोटनहृयाम भिड्दै छन् । २००८ मा म्यानचेस्टर युनाइटेड र चेल्सीले च्याम्पियन्स लिग फाइनल खेलेपछि यसपटक नै दुई इंग्लिस टिम फाइनलमा भेटिएका हुन् । जसमा टोटनहृयाम पहिलोपटक फाइनलमा पुगेको हो भने पाँच पटकको विजेता लिभरपुलको नवौँ फाइनल यात्रा हो ।
दुई इंग्लिस क्लब लिभरपुल र टोटनहृयामले अन्तिमपल्ट कुनै उपाधि जितेको समय जोड्ने हो भने १८ वर्ष पुग्छ । लिभरपुलले ७ वर्ष भयो केही नजितेको । टोटेनहमले त झन केही पनि नजितेको ११ वर्ष बितिसक्यो । पछिल्लो समय दुवै टिमले खुबै प्रगति गरेको छ । योर्गन क्लोप र माउरिसो पोचेटिनोले आ–आफ्नो टिमलाई खुबै बलियो बनाएका छन् । क्लोपले एकातर्फ लिरभपुललाई रोमाञ्चक र भयरहित टिम बनाएको छ ।
त्यसो त पोचेटिनोले टोटेनहमलाई बहादुर र कहिल्यै हार नमान्ने टिममा दर्ज गरेको छ । लिभरपुलले अन्तिम पटक जितेको उपाधि भनेको सन् २०१२ को लिग कप हो । त्यस अगाडि उसले जितेको सन् २००६ को एफए कप हो । टोटेनहमले त झन सन् २००८ मा अन्तिमपल्ट जितेको थियो, लिग कप । त्यसअघि सन् १९९९ मा उसले त्यही प्रतियोगिता जितेको इतिहास छ । लिभरपुलसँग गत वर्ष किभमा च्याम्पियन्स लिगकै फाइनल खेलेको अनुभव पनि छ ।
टोटेनहम टिममा यस्तो अनुभव भएका खेलाडी एकमात्र छन् टोबी एल्डरवायरल्डका रूपमा । उनले सन् २०१४ मा एट्लेटिको म्याड्रिडका लागि यो अनुभव बटुलेका थिए, त्यो पनि हारका रूपमा । रियल म्याड्रिडले पनि कम्तीमा आफ्नै सहरमा उपाधिको रक्षा गर्ने सोचेको हुनुपर्छ । तर यस्तो केही भएन । बार्सिलोना पनि सेमिफाइनलमै रोकियो । यस्तोमा पछिल्लो १० वर्षमा दोस्रोपल्ट मात्र केही स्पेनी टिम फाइनलमा हुने छैन । भर्खरै सकिएको सिजन प्रिमियर लिगमा लिभरपुल दोस्रो स्थानमा र टोटनहृयाम चौथो स्थानमा रहेका थिए ।
फाइनल अघि टोटनहृयामको तुलनामा लिभरपुलको फर्मेसन र सुरुवाति ११ खेलाडी केही अनुमान गर्न सकिने खालको देखिन्छ । घाइते रहेका टोटनहृयाम स्ट्राइकर हृयारी केन मैदान फर्किने बताइसकेका छन् । त्यसैले सन हिउङ मिन या सेमिफाइनलका स्टार लुकास मोउरामध्ये एक सुरुवातमा बेञ्चमा हुने छन् ।
दुई खेलाडी स्ट्राइकमा राख्दा मिडफिल्डमा अलि, सिसोको, इरिकसन र डायरसँगै डिफेन्सबाट ट्रिपियरलाई पनि पोसेसनमा अगाडि बढाउने शैली पोचेटिनोलाई आवश्यक पर्न जान्छ । त्यसमा उनले ‘स्वीपिङ मुभ्स’ प्रयोग गर्न सक्छन् । किनभने लिभरपुलको सेन्टर ब्याकलाई हेर्दा बक्समा फालिने क्रस बलबाट केही फाइदा हुने देखिँदैन ।