जेठ २०, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता अग्नी सापकोटाले अध्यक्ष पुष्प कमल दाहालले आलोपालो प्रधानमन्त्री बन्ने विषयमा भएको सहमतिको स्मरण गराएर राम्रो काम गरेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता सापकोटाले प्रसंगबस सहमतिका कुरा स्मरण गराउनु स्वभाविक भएको तर्क गरे । दाहालको अभिव्यक्तिले राजनीतिलाई गतिशिल बनाएको भन्दै सापकोटाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने पनि बताए ।
अध्यक्ष दाहालले प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै अर्का अध्यक्ष केपी ओलीले समय आएपछि सहमतिअनुसार आफूलाई सत्ता हस्तान्तरण गर्ने विश्वास व्यक्त गरेका थिए ।
दाहालको धारणा आएपछि दुई अध्यक्षबीचको सम्बन्धलाई अर्को उचाईमा पुर्याउन मद्धत पुगेकोसमेत नेता सापकोटाले दावी गरे ।
आलोपालो प्रधानमन्त्री बन्ने सहमति पालना हुनुपर्नेमा सापकोटाले जोड दिए । दाहालले भनेजस्तै सहमतिप्रति सबै इमानदार भए मात्रै सम्बन्ध सफल हुने सापकोटाको तर्क छ ।