Logo

ट्रमा सेन्टरमा छैन सिटी स्क्यान मेसिन, वीरमा उस्तै



जेठ २४, काठमाण्डौ । सरकारीस्तरबाट दिइने स्वास्थ्य सेवा निकै आलोचित हुँदै आएको छ । गुणस्तरीय सेवा दिन नसक्दा उपचार विश्वासिलो बन्न सकेको छैन । न त चाहिने उपकरण नै पर्याप्त हुन्छन्, न त भएकाको नै सही सदुपयोग । यस्तै छ राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालको अवस्था ।

हाडजोर्नीसम्बन्धी चोटपटक लागेका बिरामीको उपचार गर्ने ठाउँ नै ट्रमा सेन्टर हो । सेन्टरमा दुर्घटना वा अन्य कुनै कारण चोट लागेका बिरामीलाई आपत्कालीन उपचार गरिन्छ । ट्रमामा पूर्ण विशेषज्ञ सेवा दिइने भएकाले हाडजोर्नी तथा नशा, मुटु शल्यचिकित्सक, प्लास्टिक सर्जन, नाक, कान घाँटी र दन्त शल्य चिकित्सकको समूह आवश्यक हुन्छ ।

२ सय शैयाको सेन्टर रहेको छ । तर नेपालको एक मात्र ट्रमा सेन्टर आफैँ विरामी अवस्थामा छ । राष्ट्रिय ट्रमा सेन्टरको सीटी स्क्यान गर्ने मेसिन विग्रिएको सात महिना बितिसकेको छ । विग्रेको मेसिन न मर्मत गरिन्छ, न अर्को ल्याइन्छ । अनि कसरी हुन्छ प्रभावकारी उपचार ? देशको एक मात्र ट्रमा सेन्टर जहा देशैभरीका घाइतेहरु उपचारका लागि आउँछन् ।

तर आवश्यक उपकरणको अभावमा उपचार प्रभावकारी बन्न सकेको छैन । ट्रमा सेन्टरमा आफ्नो बुबाको उपचारका लागि आएका विरेन्द्र ठाकुर सिटी स्क्यान गर्ने मेसिन विग्रदा समस्यामा परे । बुबाको उपचारका क्रममा सिटिस्क्यान गराउनुपर्ने भयो । तर ट्रमा सेन्टरमा भएको सिटि स्क्यानले काम गर्दैन । औसतभन्दा बढि शुल्क तिरेर सिटि स्क्यान गराउन अन्तै धाउनुपर्ने बाध्यता छ ।

तर, ट्रमा सेन्टर भने सिटी स्क्यान मर्मतका लागि मन्त्रालयले वेवास्ता गरेको आरोप लगाउँछ । सेन्टरका निर्देशक प्रमोदकुमार यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पटकपटक समस्या समाधानका लागि आग्रह गर्दा पनि मौन बसेको जिकिर गरे ।

दक्षिण एसियामै नमुना सेन्टर बनाउने सोचले तत्कालीन भारतीय र नेपालाका प्रधानमन्त्रीले १९९७ जुन ६ मा शिलान्यास गरेका थिए । शिलान्यास भएको करिब छ वर्षपछि सन् २००३ मा दुवै देशबीच ट्रमा सेन्टर निर्माण गर्ने सहमति भएको थियो ।

निर्माण सम्पन्न भएपछि ४ वर्षअघि भारतले नेपाललाई हस्तान्तरण गरेको थियो । ट्रमा सेन्टरमा मात्र होईन, वीर अस्पतालको समस्या पनि उस्तै छ ।

केही दिन पहिले वीर अस्पतालमा पनि सिटि स्क्यान पनि बिग्रएको छ । देशका ठूला र प्रभाकारी भनिएका उपचार केन्द्रकै अवस्था कमजोर हुँदा विरामीले कसरी प्रभावकारी उपचार पाउने ? यस विषयमा सम्बन्धित निकायले गम्भी भएर सोच्ने मात्रै होइन, समस्या समाधानका लागि ठोस कदम चाल्नु पनि आवश्यक छ ।



प्रतिक्रिया दिनुहोस्